
काठमाडौं, पुष १३ । नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रर्दशनी माघ ५ देखि ८ गतेसम्म चितवनमा हुने भएको छ ।
संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विस्तृत जानकारी गराएको हो । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया)का अध्यक्ष खोजराज कटुवालले प्रर्दशनीले कृषि उकरण उत्पादनको वृद्धि र विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
प्रदर्शनीमा नेपालमा उत्पादन भएका कृषिका नयाँनयाँ प्रविधि, औजार, कृषि उपकरण प्रदर्शनीका लागि राखिने जनाइएको छ । अध्यक्ष कटुवालले मुलुक कृषि प्रधान भएता पनि कृषि औजारहरु विदेशबाट आयात गर्नु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले पछिल्लो समय नेपालमा १० अर्ब भन्दा बढीको कृषि औजार आयात भइरहेको बताउनुभयो ।
अब कृषि प्रविधिहरुको नेपालमा नै उत्पादन बढाउनु पर्ने आवश्यकतामा पनि व्यवसायीहरुले जोड दिएका छन् । नेपालमा कृषि औजार उत्पादनका लागि नीतिगत समस्या रहेकाले सरकारबाट समाधान भएमा उत्पादन गर्न सहज हुने उनीहरुको धारणा छ । प्रदर्शनीको एक लाखबढीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
प्रतिक्रिया दिनुहोस्