
एजेन्सी, माघ २१ । इस्लामिक देशहरुको सङ्गठन अर्गनाइजेशन अफ् इस्लामिक को–अपरेशन (ओआईसी) ले मध्य–पूर्वका बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको शान्ति योजना अस्वीकार गरेको छ ।
विश्वका करिब डेढ अर्ब मुसलमानको प्रतिनिधित्व गर्ने सङ्गठन ओआईसीले आफू आवद्ध ५७ सदस्य राष्ट्रलाई ट्रम्पको योजनालाई नसघाउन आह्वान गरेको हो ।
सोमबारको बैठकपछि जारी विज्ञिप्तिमा, ‘ओआईसी अमेरिकी–इजरायलको योजनालाई स्वीकार्दैन । यसले प्यालेस्टाइनका नागरिकको वैध अधिकार र आशालाई पूरा गर्दैन । शान्ति प्रक्रियाको शर्तहरुको पनि उल्लंघन गर्छ,’ भनिएको छ ।
पूरै जेरुसेलम शहरमा इजरायली आधिपत्य हुने गरी बनाइएको ट्रम्पको योजना लागु भएमा इजरायलले प्यालेस्टाइन जमिनमा रहेको यहुदी बस्ती नियन्त्रणमा लिन सक्नेछ । ट्रम्पले गत जनवरी २९ मा मध्य–पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरायलको अविभाजित राजधानी कायम राख्ने घोषणा गरेका थिए ।
ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको उपस्थितिमा योजना सार्वजनिक गर्दै ट्रम्पले यो प्यालेस्टाइनीहरूको निम्ति अन्तिम मौका भएको बताएका थिए ।
इजरायलले ‘महत्वपूर्ण भौगोलिक सम्झौता’ गर्ने भनिएको योजनामा प्यालेस्टिनी राज्यको इलाकालाई युद्धमार्फत इजरायलले कब्जा गरेको जेरूसेलमसहितको प्यालेस्टिनी भूमि बराबर दिने प्रस्ताव गरिएको छ ।
इजरायली र प्यालेस्टिनी समुदायको बस्तीहरूलाई जोड्न आवश्यकतानुसार पुल, सुरूङ तथा सडक मार्ग बनाउन सक्ने उल्लेख छ ।
ट्रम्पले सम्झौता प्यालेस्टिनीहरूलाई उनीहरूको स्वतन्त्र राज्य स्थापनाको सपना सार्थक पार्ने ऐतिहासिक अवसर हुने भन्दै ७० वर्षदेखि कुनै प्रगति नभएको सन्दर्भमा यो उनीहरूलाई अन्तिम मौका हुने बताएका थिए ।
योजनालाई इजरायली प्रधानमन्त्री नेतन्याहुले ऐतिहासिक उपलब्धि भनेका छन् । अमेरिकी योजनालाई प्यालेस्टिनी प्रधानमन्त्री महमुद अब्बासले भने प्यालेस्टिनी समुदायविरूद्धको ‘षड्यन्त्र’ भन्दै अस्वीकार गरेका छन् । यसविरुद्ध गाजा क्षेत्रमा प्यालेस्टिनीले विरोध नै प्रदर्शन गरेका छन् ।
साउदी अरेबिया र इजिप्टले ट्रम्पको योजनाको स्वागत गरेका छन् । इजिप्टले प्यालेस्टाइन र इजरायल दुबैलाई ट्रम्पको शान्ति योजना सचेततापूर्वक विचार गर्न र वार्ता थाल्न भनेको छ ।
जोर्डनले भने मध्य–पूर्वमा शान्ति स्थापना गर्ने एउटै बाटो सन् १९६७ भन्दा अघिको सिमाना बमोजिम स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना हो भनेको छ । इजरायलले वेस्ट ब्याङ्क र गाजा क्षेत्रलाई सन् १९६७ पछि कब्जा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्