
काठमाडौं, पुष १४ । एक महिनाअघि दक्षिण अफ्रिकामा देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण निकै रफ्तारमा बढ्दा विश्वभर चिन्ता बढाएको छ । युरोप र अमेरिकामा दिनहुँ रेर्कड तोड्दै संक्रमित थपिएका छन् ।
अमेरिका र युरोपेली राष्ट्रहरुमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन दिनहुँ रेकर्ड तोड्दै उच्च गतिमा फैलिएको छ । अमेरिकाको स्वास्थ्य कार्यलयहरुले गत सोमबारसम्म ४ लाख ४० हजार व्यक्तिमा ओमिक्रोन देखिएको छ । सोमबारमात्र ४ लाख ४१ हजार २ सय ७८ अमेरिकीमा कोभिडको संक्रमण देखिएको थियो । जुन तथ्याक अहिलेसम्मकै उच्च हो ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले अमेरिकामा साताभित्र बढेको संक्रमण जनवरी २०२१ पछिको सबैभन्दा उच्च रहेको जनाएको छ । युरोपेली राष्ट्र फ्रान्स, इटली, ग्रिस, पोर्चुगल र बेलायतमा संक्रमितको संख्या दिनहुँ बढेको छ । पोल्यान्डमा चौथो लहर सुरु भएपछि पहिलो पटक कोरोनाका कारण एकै दिन ७ सय ९४ व्यक्तिको मृत्यु भयो । तिमध्ये खोप नलगाएका धेरै व्यक्तिहरु रहेका छन् ।
यस्तै मंगलबार फ्रान्समा १ लाख ७९ हजार ८ सय ७ जनामा संक्रमण पुष्टि भयो । यो संख्या फ्रान्समासमेत अहिले सम्मकै उच्च हो । फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले आगामी जनवरीको सुरु सम्ममा दैनिक २ लाख ५० हजार संक्रमित भेटिने चेतावनी दिएका छन् । फ्रान्सेली अस्पतालहरुको महासंघले पनि कठिन समय आउँन बाँकी नै रहेको जनाएको छ ।
यस्तै बेलायतमा १ लाख १७ हजार संक्रमित भेटिएका छन् भने इटालीमा ७८ हजार बढीमा संक्रमण पुष्टि भएको छ । विभिन्न अध्ययनहरुले यसअघि देखिएको डेल्टा भेरियन्टभन्दा ओमिक्रोन कम घातक भए पनि छिटो सर्नेहुँदा जोखिम बढाउने देखाएको छ ।
विश्वस्वास्थ्य संगठन (डब्लुएचओ)ले बढी संक्रामक देखिएको ओमिक्रोनले निम्त्याउने जोखिम निकै उच्च हुने पटक–पटक चेतावनी दिइसकेको छ । ओमिक्रोन संक्रमित ७० प्रतिशत व्यक्तिलाई अस्पताल भर्ना गर्नु नपर्ने अवस्था रहेको छ । डब्लुएचओले कोरोनाका सबै भेरियन्टहरु युरोपमा ५७ प्रतिशत र अमेरिकामा ३० प्रतिशतले बढेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्