
भक्तपुर । भक्तपुरमा बुधबार राति कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
बुधबार राति करिब पौने ९ बजे तिर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भई सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
सोही कारमा सवार धनुषाको जनकपुर उप महानगरपालिका–१५ घर भई हाल काठमाडौं शान्तिनगर बस्ने २२ बर्षीय अभिषेक साहको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनु भएको छ ।
दुर्घटनामा घाइते भएका साहलाई उपचारका लागी नागरिक अस्पताल गठ्ठाघर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनु भयो ।
दुर्घटनामा कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ गम्भीर घाइते भएका छन् । यस्तै, कार अनियन्त्रित भई सोही दिशातर्फ गईरहेको ट्याक्सी र बसलाई समेत ठक्कर दिएकोमा ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर टिकाथली बस्ने ३२ वर्षीय भिमसेन खत्री पनि घाइते भएका थिए ।
घिसिङको मध्यपुर अस्पताल थिमीमा उपचार भईरहेको छ भने खत्री सामान्य उपचार पश्चात डिस्चार्ज भइसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिनु भयो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्