१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


कानूनी व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : मुख्यमन्त्री पोखरेल


0
Shares

खस्यौली, माघ २१ । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशसभाले सहकार्यको संस्कृतिलाई स्थापित गरेको बताएका छन् । प्रदेश ५ को स्थापना दिवसका अवसरमा मंगलबार बुटवलमा आयोजित कार्यक्रममा उनले भने, “कानूनी शासन व्यवस्थालाई सवल बनाउन प्रदेशसभाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । ”

मुख्यमन्त्री पोखरेलले सङ्घीय प्रणालीमा शक्ति पृथकीकरणको प्रयोग भएको उल्लेख गर्दै प्रदेशस्तरमा व्यवस्थापिका र कार्यपालिकाले काम गरिरहेको जानकारी दिुए । उनले भने, “हामीले विकासको आकाङ्क्षा र मौलिक लोकतन्त्रको प्रयोग आफ्नो ढङ्गले गरिरहेका छौं ।”

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामकरणको विषयलाई टुङ्गो लगाउन ढिला भएकोमा चिन्ता व्यक्त गर्दै प्रतिपक्षले सरकारसँग सबै विषयमा हातेमालो गर्न तयार भएको बताए । सङ्घीय समाजवादी पार्टीका सन्तोष पाण्डेले प्रदेशको विकासका लागि सबैको सुझाव र सहयोग आवश्यक भएको बताए ।

प्रदेशसभाका ८६ सदस्यमध्ये अधिकांश अनुपस्थित रहेको सो कार्यक्रममा थारु संस्कृतिको झाँकी र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रदेशसभाका पूर्वसचिव सुरेन्द्र अर्याल, डा. मनबहादुर विक, प्रेम भट्टराईलगायतका कर्मचारीलाई सम्मान गरिएको थियो । रासस