
काठमाडौं, पुष १५ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौँ दिन बिहीबार पनि बन्दसत्र जारी रहेको छ ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समूहले छलफलको निष्कर्ष प्रस्तुत गरिरहेका छन् ।
कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभाहलमा चलिरहेको बन्दसत्रमा २५ वटा समूह बनाएर सुरु भएको छलफलमा हिजोसम्म ११ समूले आफ्नो निष्कर्ष प्रस्तुत गरेका थिए भने बाँकी १४ समूहले आज विहान ११ बजेबाट आ–आफ्नो पालोमा समूहको सुझाव प्रस्तुत गरिरहेका छन् ।
सबै समूहको प्रस्तुतिपछि अध्यक्ष दाहालले जवाफ दिने कार्यसूची रहेको छ । बन्दसत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न समय लागेकाले महाधिवेशन भोलि मात्रै सकिने माओवादीले जनाएको छ ।
बन्दसत्रको पहिलो दिन गत सोमबार पार्टी अध्यक्ष दाहालले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच, माओवादी केन्द्रले महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।
माओवादीको अन्तरिम विधानले प्रतिनिधिहरूले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ । महाधिवेशनमा करिब १ हजार ७ सय प्रतिनिधि सहभागी छन् ।
केन्द्रीय समितिमा चयन भएकाहरूले पदाधिकारीको लागि उम्मेदवारी दिने र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरूले पदाधिकारीका उम्मेदवारलाई मतदान गर्ने व्यवस्था माओवादीको विधानमा उल्लेख छ ।
माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्