
काठमाडौं, पुष १५ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्यप्रशिक्षक पुबुदु दसानायकेले टिमको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट संघ (क्यान) सँग रहेको बताएका छन् ।
मुख्य प्रशिक्षकको कार्यभार सम्हालेपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा पुबुदुले कप्तान परिवर्तनको अधिकार क्यानको भएको बताए । क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो ।
क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । केन्द्रिय सम्झौताको विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए ।
क्यानले मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो । प्रशिक्षक पुबुदुले विश्वकप छनोटका लागि ३० खेलाडीलाई क्याम्पमा बोलाउने समेत बताए । टी–ट्वान्टी विश्वकप छनोट फेबु्रअरीको मध्यबाट सुरु हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्