
काठमाडौं, पुष १५ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) पार्टीको रुपमा नरहेको टिप्पणी गर्नु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले एमाले पार्टी नभएर पाटीपौवामा परिणत भईसकेको दावी समेत गर्नुभयो । बिहीबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले एमालेको क्रान्तिकारी नै भुत्तै भएकाले आफूहरुले क्रान्तिकारी धारको नेतृत्वसहित नयाँ पार्टी गठन गरेको तर्क समेत गर्नुभयो ।
अध्यक्ष नेपालले एमालेमा केही गरौं भन्ने भावना समेत नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो पुरानो एमाले पार्टीमा क्रान्तिकारी धार नै रहेन । धार भुत्तै भयो । भएपनि काम नलाग्ने, त्यो त्यत्तिकै फलामको डल्लो हुन पुग्दछ । धारै छैन । क्रान्तिकारी चिन्तननै छैन । परिवर्तनको संकल्प नै छैन । निःश्वार्थ भावना पनि छैन । केही गरौं भन्ने पवित्र सोच नै छैन । क्रान्तिकारी भावना छैन भने, समर्पणको भावना छैन भने, त्यो पार्टी पार्टी रहँदैन । त्यो पाटीपौवा हुन पुग्दछ । त्यो पाटीपौवाको केही काम छैन ।’
अध्यक्ष नेपालले जनतालाई सुःखी बनाउने र मुलुकलाई समृद्ध बनाउने संकल्पका साथ आफ्नो पार्टी अघि बढिरहेको दोेहो¥याउनुभयो । उहाँले जनताको पीडालाई सम्बोधन गरेर आफ्नो पार्टी अघि बढने भन्दै टोलटोलमा गएर पार्टीको संगठन निर्माणमा जुटन पनि नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्