
पाल्पा । पाल्पामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ । धार्मिक र पर्यटकीय स्थलहरूमा स्थानीय सरकारले आवश्यक पूर्वाधारको विकास गर्न थालेपछि पर्यटकहरूको घुइँचो बढ्न थालेको हो ।
स्थानीय सरकारले पर्यटकीय पुर्वाधारहरूमा चासो देखाउँदै यहाँको पूर्वाधार विकास गर्न थालेपछि आन्तरिक र बाह्य पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । कोरोना महामारीको समयमा घर वाहिर नस्किन डराएका पर्यटकहरू धर्मकर्म र घुमघामको लागि निस्किन थालेपछि पर्यटकीय क्षेत्रमा चहलपहल बढेको हो ।
धार्मिक तथा पर्यटकीय गतिविधि बढेपछि कोरोनाले थलिएको पाल्पाको पर्यटन क्षेत्र पुरानो लयमा फर्कन थालेको छ । रम्भा गाउँपालिकाले ऐतिहासिक धार्मिक तीर्थस्थल रम्भादेवी भगवती मन्दिरसँगै रिमिघा लेकलाई पर्यटकीय गन्तव्यकाे रूपमा विकास गरेको छ । जिल्लाको चर्चित रम्भादेवी मन्दिरमा धार्मिक आस्थासँग जोडिएर आउने धार्मिक पर्यटकहरू घुमघामको लागि रिमिघा लेक पुग्ने गरेका छन् ।
रम्भादेवी मन्दिर आर्यभञ्जाङ–रामपुर सडक खण्ड ताहुबाट १ किलोमिटर र सदरमुकाम तानेसनबाट ३१ किलोमिटर पूर्वमा पर्दछ । बनवासको क्रममा सीतालाई तिर्खा लागेपछि भगवान रामले जंगलमा वाँण हानेर पानी निकाली तिर्खा मेटाएको धार्मिक विश्वासको आधारमा रमा पानीकाे अपभ्रम्स हुँदै रम्भापानी भएको धार्मिक विश्वास छ ।
रामले वाँण हानेर पानी निकालेको स्थल हाल रम्भापानीको नाममा प्रसिद्ध धार्मिक तीर्थस्थल बनेको छ । शुद्ध मनले पूजाआजा गरेमा मनले चिताएको काम पूरा हुने पुजारी प्रेमनारायण पाण्डेले बताउनुभयो ।
रम्भादेवी मन्दिर क्षेत्र र रिमिघा लेकमा प्राकृतिक दुर्लभ जडीबुटी र बनस्पतीहरू पाइने भएकाले पर्यापर्यटनका दृष्टिकोणले महत्वपूर्ण छ । रिमिघा लेक ऋषिहरूले तपश्या गरेर बसेको पवित्र तपोभूमि पनि हो । रिमिघा लेकमा प्रवेश गेट, रेलिङ सहितको सिंढी, प्रतिक्षालय, लेकसम्म जाने बाटो, पार्किङ स्थल लगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकहरू पुग्न थालेका हुन् ।
रिमिघा लेक पाल्पाकै अग्लो स्थान भएकोले नेपालका हिमश्रृङ्खला सहित चारैतिरको रमणिय दृष्यहरू अवलोकन गर्न सकिन्छ । धर्मकर्मसँगै प्राकृतिक सौन्दयतासँग रमाउन रिमिघा लेकमा छुट्टै आनन्द आएको तानसेनबाट घुम्न गएकी वसन्ती ढकालको अनुभव छ ।
जिल्लाका अधिकांश पर्यटकीय गन्तव्यहरू धार्मिक मठ मन्दिरसँगै जोडिएर विकास भएका छन् । धर्म कर्मसँगै शुद्ध भएको मन वचन कर्मलाई विकास भएका नयाँ-नयाँ पर्यटकीय गन्तव्यले मानिसको मन मष्तिस्कलाई आनन्दित बनाउने गरेको छ ।
पाल्पाका स्थानीय सरकार धार्मिक तथा प्राकृतिक रमणीय स्थानहरूको पर्यटकीय पूर्वाधार निर्माणमा जुटेका हुन् । जसको कारण पर्यटन व्यवसाय चलायमान हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्