
सर्लाही । उखुको मूल्य नतोकी सर्लाहीका चिनी मिलहरू सञ्चालनमा आएका छन् ।
हरिवनस्थित ईन्दुशंकर चिनी उद्योग र गोडैता नगरपालिकाको बगदहस्थित महालक्ष्मी सुगर मिल सञ्चालनमा आएका छन् भने धनकौलस्थित अन्नपूर्ण सुगर मिल प्राविधिक खराबीका कारण सञ्चालनमा आउन सकेका छैनन् ।
मिल मर्मतको कार्य जारी रहेकाले १५ दिनभित्र सञ्चालन गरिने सञ्चालक ज्ञानप्रसाद भट्टराईले बताउनुभयो ।
काट्न ढिला हुँदा खेतमै सुक्ने डर तथा अर्को बाली लगाउन ढिला हुने भएपछि मूल्य नै नतोकिए पनि उद्योगलाई उखु दिन किसान बाध्य भएका हुन् । किसानको उखु बोकेका ट्रक र ट्रयाक्टरले उद्योगको यार्ड भरिभराउ छन् ।
दैनिक ५० हजार क्वीन्टल उखु क्रसिङ गर्ने क्षमता रहेको ईन्दुशंकरले गत वर्ष २२ लाख १६ हजार क्वीन्टल उखु क्रसिङ गरेको थियो । किसानहरूकै आग्रहमा मिल सञ्चालनमा ल्याइएको सञ्चालकहरूको भनाइ छ । सरकारले तोके अनुसार मूल्य दिने गरी मिलमा उखु संकलन गरिएको सञ्चालकको भनाइ छ ।
यता, उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली भने उखुको मूल्य तोक्ने काममा सरकार र उद्योगपतिले ढिलासुस्ती गरेको आरोप लगाउनुभएको छ । आफूहरूले प्रतिक्विन्टल ६ सय ८० रुपैयाँ हुनुपर्ने माग सहित कृषि मन्त्रालयमा लिखित पत्र बुझाएको भन्दै उद्योगीहरूले सरकारसँग मिलेर ढिलासुस्ती गरिरहेको उहाँको आरोप छ ।
गतवर्ष उखुको मुल्य ५ सय ३६ रुपैयाँ ५६ पैसा तोकिएको थियो । जसमा उद्योगपतिले ४ सय ७१ रुपैयाँ २८ पैसा तथा सरकारले ६५ रुपैयाँ २८ पैसा किसानलाई उपलब्ध गराएको हो । मुलुकमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा यसवर्ष २५ हजार हेक्टर हाराहारीमा उखु खेती भएको अनुमान गरिएको छ ।
हरेक वर्ष उखुको मूल्य तोक्ने विषयमा रडाँको मच्चिने र मुल्य तोकिसकेपछि पनि किसानले समयमै उद्योग र सरकारबाट भुक्तानी नपाउने अवस्थाबाट गुज्रनु पर्दा किसानले पछिल्लो केही वर्षयता उखु खेती छाडेर अन्य खेतीको विकल्प रोज्न थालेका छन् ।
उद्योगपति र सरकारले दुवैपक्षले वर्षौंसम्म उखुको भुक्तानी उपलब्ध नगराउने प्रवृत्तिले नगदे भनिएको उखु खेती उधारो हुँदै ऋणे बालीको रूपमा परिणत भइरहेको उखु उत्पादक महासंघका अध्यक्ष मैनालीको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्