
काठमाडौं, पुष १६ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताउनु भएको छ ।
शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री बडूले निजामती कर्मचारीहरुको सरुवा, बढुवालाई पारदर्शी र निष्पक्ष बनाउन चक्रिय प्रणाली लागूगर्न छलफल भइरहेको बताउनुभयो । उहाँले निजामति कर्मचारीहरु निष्पक्ष रुपमा लोकसेवाबाट आउनु पर्ने भन्दै जथाभावि मानिसहरु राखेर सेवा र प्रशासनलाई बिथोल्नु नहुने बताउनुभयो ।
मन्त्री बडूले सरुवालाई पूर्वानुमान योग्य हुनसक्ने गरी सबैले सबै ठाउँमा जाने चक्रिय प्रणालीको रुपमा बिस्तार गर्न छलफल भइरहेको बताउनुभयो । उहाँले सोर्स, फोर्स लगाएर सुगममा बसिरहेर पेन्सन पकाउने कुरा न्यायोचित नभएकोले कारबाहीमा परेका बाहेक अरुलाई एक समय पुगेपछि आफैँ यो पदमा पुग्छु भन्ने व्याच प्रमोशन गर्ने कुरामा छलफल भइरहेको बताउनुभयो ।
मन्त्री बडूले न्यायालयको समस्या न्यायालय भित्रबाट नै समाधान हुनुपर्ने बताउनुभयो । उहाँले न्यायालयमा न्याय दिलाउनेहरुको निधार खुम्चिने काम हुनु नहुने भन्दै न्यायालयबाट छिटो छरितो रुपमा सेवाग्राहीले सेवा पाउनु पर्ने बताउनुभयो । उहाँले अन्य काम संघीयतामा गएपछि सहज र छिटो भएको तर न्यायलयको काम भने संघीयतामा गइसकेपछि पनि सहज नभएको आफूलाई अनुभुत भएको बताउनुभयो ।
मन्त्री बडूले एउटा व्यक्तिले मुद्दा दर्ता गरिसकेपछि न्याय पाउनको लागि अनिश्चयकालसम्म पर्खनुपर्ने समस्या राम्रो नभएकोसमेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्