
म्याग्दी । विद्यालयमा पढाइ भैरहेको समयमा म्याग्दीको बेनी नगरपालिका–५ डडुवाको ज्योति आधारभुत विद्यालय भित्र पसेर एक जना युवाले खुकुरी नचाउँदै प्रधानअध्यापकको कार्यकक्ष तोडफोड गरेका छन् ।
शुक्रबार करिब १२ बजे डडुवाका सुवाश कार्कीले विद्यार्थीले पढिरहेको अबस्थामा विद्यालय भित्र छिरेर प्रधानाध्यापक बस्ने कुर्सी र टेवुलमा खुकुरी प्रहार गर्दा शिक्षक र विद्यार्थीहरु भागाभाग भएका थिए ।
केही शिक्षकहरु कक्षा कोठा बाहिर बसेर अतिरिक्त क्रियाकलाप गर्ने नगर्ने बिषयमा छलफल गरिरहेको अवस्थामा कार्की खुकुरी लिएर विद्यालय प्रवेश गरेर सिधै प्राधानाध्यापक बस्ने कुर्सी र टेवलमा खुकुरी प्रहार गरेको प्रधानाध्यापक मिनबहादुर खत्रीले बताउनुभयो ।
“विद्यार्थीले पढिरहेको अबस्थामा विद्यालयमा आएर खुकुरी नचाउदा शिक्षक विद्यार्थी भागभाग हुने अबस्था आयो” उहाँले भन्नुभयो । टेबलमा खुकुरी हानेपछि ४ जना शिक्षकहरुले कार्कीलाई समातेर हतियार नियन्त्रणमा लिएका थिए । शिक्षकहरुले हतियार नियन्त्रणमा लिएपछि कार्कीलाई शिक्षकहरुले नै घरमा पुर्याएर फर्किएका थिए ।
“विद्यार्थीले पढिरहेको अबस्थामा आक्रमण गर्ने शैलिमा आएर विद्यालयमा खुकुरी नचाउदा हाम्रो सुरक्षामा समेत चुनौति देखिएको छ ।” खत्रीले भन्नुभयो “कलम चल्ने विद्यालयमा खुकुरी चल्दा विद्यार्थीमा नकारात्मक असर परेको छ ।”
रक्सी खाएर विद्यालयमा छिरेर खुकुरी नचाएको जानकारी आएपछि प्रहरी पुगेर कार्कीलाई नियन्त्रणमा लिईएको प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले जानकारी दिुनु भयो । विद्यालयले कार्की विरुद्ध जायरी दिएको छ, त्यसको विषयमा दुई पक्षलाई नै राखेर छलफलपछि आवश्यक कारबाही अघि बढाउने उहाँले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्