१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


शिविरले पूरा गर्‍याे संसार हेर्ने धाेकाे, उज्यालो देख्ने रहर पूरा हुँदा वृद्धवृद्धा दङ्ग


481
Shares

भोजपुर । उज्यालो देख्ने रहर कसको पो नहोला र ? धेरै वर्षको अन्धकार भोगाइपछि भोजपुरको दुरदराजमा बस्ने स्थानीयको उज्यालो देख्ने रहर पूरा हुँदा हर्षको सिमै रहेन ।

विराटनगर आँखा अस्पताल रानीको सहयोगमा नेत्र ज्योति संघ र आँखा उपचार केन्द्र भोजपुरले यस्तो अवसर जुराइदिएका हुन् । अध्यारोबाट उज्यालोतर्फ भन्ने नाराका साथ विभिन्न दुर्गम जिल्लाका दुरदराजमा निःशुल्क आँखा शिविर सञ्चालन हुँदा अन्धकारमय जीवन बिताउँदै आएका धेरैले उज्यालो जीवन पाएका छन् ।

आर्थिक रूपले अति विपन्न समुदायलाई लक्षित गरेर आयोजना गरेको आँखा परीक्षण शिविरबाट धेरैको आँखाको शल्यक्रिया गरिएको छ । निःशुल्क आँखा शल्यक्रिबाट झण्डै ५ सय आँखाका विरामीको उपचार भएको छ भने १ सय २० जनाको निःशुल्क शल्याक्रिया गरिएको छ ।

आँखाको सम्पूर्ण रोगको उपचार, आँखामा मोतिविन्दु, मासु पलाएको लगायत सम्पूर्ण रोगहरूको निःशुल्क शल्याक्रिया पछि चस्मा वितरण गरिएको थियो । आर्थिक कारणले आँखाको उपचार गर्न नसकेर घरमै दृष्टिविहिन भएर बस्न विवश भोजपुर सहित संखुवासभा र खोटाङका आँखाका विरामीले नयाँ दृष्टि पाएका हुन् ।

आँखाकै कारण दैनिक जीवनयापनमा समस्या खेप्दै आएका उनीहरूलाई घर गाउँमै पुगेर उपचार गरिदिँदा उनीहरू दङ्ग छन् । निःशुल्क शिविरले दुर्गम र दुरदुराजका सर्वसाधरणलाई आर्थिक अभावका कारण अन्धकारमै बस्नु पर्ने बाध्यतालाई हटाइदिएको छ ।

रोग पालेर बस्नु दुरदराजका स्थानीयकाे बाध्यता छ । खर्चको अभावमा अस्पतालसम्म पुग्न नसक्ने आँखाका विरामीलाई शिविरले सहयोग पुर्‍याएको छ । आँखाका जटिल समस्या भएका विरामीहरूलाई भने उपकरणको अभावमा उपचार हुन नसकेपछि सुविधासम्पन्न ठाउँमा पठाइएको डाक्टर प्रेरणा काफ्ले बताउनुहुन्छ ।

आँखा दैनिक जीवनमा हरेक क्रियाकलाप अवलोकन गर्ने महत्वपूर्ण अंग हो । समयमै यसको उपचार भएमा संसारनै अध्यारो हुनबाट बच्न सकिन्छ । आर्थिक बाध्यताले उपचार गर्न नसकेका दुर्गम तथा ग्रामीण क्षेत्रका स्थानीयहरूलाई सम्बन्धित स्थानीय तहले केही रकम विनियोजित गरी गाउँ-गाउँमै शिविर तथा स्वास्थ्य परीक्षणमार्फत उपचार गरे विरामीको मुहारमा पक्कै पनि खुसी फर्कनेछ ।