३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


वैदेशिक रोजगारीको विकल्प बन्दै इलामका चीज उद्योग


195
Shares

इलाम । इलाममा गाईको दूध प्रशोधन गरी चीज उत्पादन गर्ने उद्योग स्थापना भएसँगै रोजगारीका अवसर पनि बढेका छन् । नेपाली बजारमै चीजको अधिक मागले उद्योग स्थापना बढेसँगै इलाममा एक चीज उद्योगमा तीन जनादेखि १० जनासम्म युवाले रोजगारीका पाएका हुन् ।

सन्दकपुर गाउँपालिका–३ को शेर्पा डेरी उद्योगमा अहिले ५ जनाले रोजगारी पाएका छन् । स्वरोजगार भइ परिवार चलाउने उद्देश्यले चीज उद्योग स्थापना गरेका रिञ्जि शेर्पाले अहिले स्थानीय ५ जनालाई रोजगारी दिएका छन् ।

दुग्ध विकास संस्थानको जागिर छोडी खोलेको चीज उद्योगमा उत्पादित दुग्ध पदार्थको माग बढेपछि उद्योग विस्तारले रोजगारीका अवसर थपिएका छन् । ७० लिटर दूधबाट चीज उत्पादन सुरु गरेका शेर्पाको डेरीमा अहिले पन्ध्र सय लिटर गाईको दूध प्रशोधन हुन्छ ।

त्यस्तै, रसुवाबाट रोजगारीका लागि इलाम आएका तुलु तामाङले स्थापना गरेको चीज उद्योगमा अहिले ८ जनाले काम गर्छन् । २०६० सालमा दैनिक २० लिटर दूध संकलनबाट चीज बनाएका तामाङको उद्योगमा अहिले १६ सय लिटर दूध प्रशोधन हुन्छ ।

लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायिक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् ।

२ दशक अघि सरकारी स्वामित्वमा मात्रै चीज उद्योग रहेको इलाममा अहिले निजी लगानीका उद्योग स्थापना हुने क्रम बढेको हो । चीजका परिकारमा रमाउने नेपालीको संख्या बढेसँगै आन्तरिक बजारमा पनि चीजको खपत बढ्दो छ ।

चीजको प्रयोग र माग बढेपछि इलाममा नीजि क्षेत्रका उद्योगको संख्या १० पुगेको छ । चीज उद्योगमा पाँच जनादेखि १० जनासम्मले रोजगारी पाएका छन् । चीज उद्योगको क्षमता विस्तारले रोजगारीका अवसर थपिँदै गएको हो ।

इलाममा सरकारी र निजी गरी १६ वटा चीज उद्योग छन् । सरकारले स्थानीय उद्यमीलाई प्रोत्साहन र सिप अभिवृद्धि गरी आत्मर्निभर बनाउन यसको प्रविधिमा जोड दिनु आवश्यक देखिन्छ ।