३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने देश नेपाल मात्रै हो : प्रधानमन्त्री देउवा


143
Shares

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताउनु भएको छ ।

प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समानुपातिक ढंगले राज्यका र पार्टीका हरेक तहमा प्रतिनिधित्व गराएको दावी समेत गर्नु भयो ।

शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा पार्टीका सांसद एवम् नेतृ डा. डिला संग्रौलाद्वारा लिखित पुस्तक ‘नेपालीका सपना अधुरै’ को विमोचन गर्दै उहाँले मुलुकको कार्यकारी तहहरुमा समेत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित हुने गरी आरक्षणको व्यवस्था गरेर नेपाल र नेपाली कांग्रेस स्वयम्ले आफूलाई सबै समूदायको पार्टीको रुपमा चिनाएको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भन्नु भयो, ‘नेपाल मात्रै एउटा यस्तो देश हो, जुन देशमा ३३ प्रतिशत महिलाहरु हरेक ठाउँमा उनीहरुलाई अधिकार दिइएको छ । र उनीहरुले पाउँछन । नेपालमा पार्टीहरुले पनि ३३ प्रतिशत महिलालाई आरक्षण दिएका छन । त्यतिमात्रै होइन । स्थानीय तहमा हेर्ने हो भने ४०/४१ प्रतिशत महिलाहरुलाई आरक्षणको व्यवस्था छ । राष्ट्रपति र उपराष्ट्रपतिमा एउटा महिला, सभामुख र उपसभामुखमा एउटा महिलालगायत धेरै ठाउँमा मेयर र उपमेयरमा एउटा महिला, त्यस्तै गाउँपालिकादेखि लिएर सबै ठाउँमा महिलाहरुलाई हामीले आरक्षणको व्यवस्था गरेका छौं । अगाडि बढाएका छौं । यस मानेमा नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ अत्यन्तै समावेशी, समानुपातिक रुपमा दलित, आदिवासी, जनजाति सबैलाई आरक्षणको व्यवस्था गरिएको छ । यस मानेमा नेपाल र नेपाली कांग्रेस पनि सबैको पार्टीका बनेको छ । यसमा भोलीका दिनमा अझ बढि मतदाता पनि उत्तिकै महत्वपूर्ण हुन्छ । भोलि आ–आफ्नो क्षेत्रमा बढिसेबढि महिला मतादाताहरु, दलित महिला मतदाता, जनजाति महिला मतदाता बढाउने काममा पनि महिला नेतृहरुलाई सफलता मिल्दै जाने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री देउवाले महिला नेतृहरुले महिला मतदाताहरुको संख्या बढाउन पनि उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।