
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना संक्रमणको कारणले थला परेको जनकपुरको पर्यटन क्षेत्र अहिले नयाँ वर्षमा भरिभराउ भएको छ । अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुरमा भारतीय पर्यटकहरूको भीड लागेको छ ।
भगवानको दर्शन र पूजापाठ गरेर नयाँ वर्षको सुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरमा पर्यटकहरू भरिएको छ । शनिबार विहानैदेखि जनकपुरको जानकी मन्दिर, राममन्दिर लगायतका धार्मिक मठमन्दिरहरूमा पर्यटकहरूको भीड लागेको होे ।
कोरोनाको कारणले जनकपुरसहितको पर्यटन क्षेत्र सुस्त भएको थियो । अहिले बिहार राज्यको मात्रै नभई अन्य प्रान्तबाट समेत जनकपुरमा पर्यटकहरू देखिएका छन् । नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश सिमला, उत्तराखण्डलगायत राज्यबाट हजारौंको संख्यामा पर्यटक जनकपुरधाम आउने गरेका छन् ।
त्यसैगरी, मौरिसस, फिजी, मलेसियाको बाली, इन्डोनेसिया, श्रीलंका, अमेरिका, चीनलगायत मुलुकबाट पर्यटक जनकपुरधाम आउने गरेको यहाँका होटेल व्यवसायी बताउँछन् । पर्यटक बढेसँगै जनकपुरका होटलहरूे भरिभराउ भएका छन् ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दासले जानकी मन्दिरमा चार वर्षपछि यति धेरै पर्यटक आएको बताउनुभयो । उहाँले पर्यटकको संख्या बढेकोमा खुसी व्यक्त गर्नुभयो ।
भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानुकुमारीले नौ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएकाले यसलाई नौंलखा मन्दिर पनि भन्ने गरिन्छ । सन् १८९४ मा शिलान्यास भइ सन् १९११ मा मुगल शैलीमा निर्माण सम्पन्न भएको मन्दिर नेपालको ख्यातिप्राप्त कलाको उत्कृष्ट नमूना मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्