९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


जग्गाफिर्ता गर्ने भनेपछि बिष्णु पाैडेलका छाेरा र न्यायाधीश रेग्मीलाई लागेन मुद्दा


0
Shares

काठमाडौं, माघ २२ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीलाई मुद्दा नचलाउने निर्णय गरेकाे छ ।

बालुवाटारमा रहेको आफ्ना नामको जग्गा सरकारलाई फिर्ता दिन राजि भएपछि उनीहरूलाई भ्रष्टाचार मुद्दाको प्रतिवादी नबनाउने निर्णय अख्तियारले गरेको हाे ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिकाे बनाउने प्रकरणका पूर्वमन्त्रीदेखि व्यापारीसम्म एक सय ७५ जनालाई भ्रष्टाचारको आरोपमा मुद्दा दर्ता गरिँदा उनीहरूले भने उन्मुक्ति पाएका हुन् ।

बालुवाटारमा रहेको जग्गा फिर्ता गर्ने बयान र निवेदनसमेत दिएकाले मुद्दा नचलाउने निर्णय गरेको अख्तियारले जनाएको हाे ।

पौडेल र रेग्मीको नाममा रहेको जग्गा सरकार मातहत ल्याउन अख्तियारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र लेखेको छ।

रेग्मीले आफू अधिवक्ता हुँदा बालुवाटारको उक्त जग्गा वकालत गरेवापत लिएको बताएका थिए ।

पाैडेलले विज्ञप्ति निकाली कानुनबमोजिम मालपोत कार्यालयबाट जग्गा खरिद गरेको र समाचारहरूमा उल्लेख भएजस्तो जग्गा हिनामिनामा आफू र आफ्नाे परिवारका कुनै सदस्यको संलग्नता नरहेको जनाएका छन् ।

पौडेलले उक्त जग्गा आफ्नो परिवारले उमा ढकालबाट किनेको उनले बताएका छन्।