
काठमाडौं, माघ २२। अख्तियारले विशेष अदालतमा भ्रष्टाचारविरूद्ध दायर गरेसँगै कांग्रेस उपसभापति एवं संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् ।
उनीविरुद्ध अख्तियारले ९ कराेड ६५ लाख ७६ हजार भ्रष्टाचार गरेकाे भन्दै बुधबार विशेष अदालतमा मुद्दा दायर गरेकाे छ ।
अब याे मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा संसदमा जान पाउने छैनन् भने अख्तियारको दाबी अदालतबाट सही ठहरिए गच्छदारको राजनीतिक जीवन पनि सकिनेछ ।
राजनीतिक दल सम्बन्धी कानुनले भ्रष्टाचारजन्य नैतिक पतन हुने फौजदारी मुद्दामा अन्तिम अदालतबाट सजायँ पाएको व्यक्ति कुनै पनि चुनावमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेकाे छ ।
गच्छदार हाल नेपाली कांग्रेसका उपसभापति रहे पनि याे प्रकरणमा मुछिँदा भने मधेसी जनअधिकार फोरम लाेकतान्त्रिक अध्यक्ष एवं सांसदका हैसियतमा मन्त्री बनेका थिए ।
माधव नेपालको नेतृत्वमा सरकारमा सहभागी हुने कि नहुने विवादमा मधेसी जनअधिकार फाेरम फसेपछि गच्छदारले पार्टी फुटाएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरी नेपाल नेतृत्वको सरकारमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्