१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँ म्याग्देका किसान सुन्तलाबाटै मनग्य आम्दानी गर्न सफल

एकै जनाले ६० लाखसम्मको सुन्तला बेच्दै

741
Shares

तनहुँ । आफ्नै गाउँघरमा बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण तनहुँका कृषकहरुले प्रस्तुत गरेका छन् । म्याग्दे गाउँपालिका– २ उमाचोकका कृषकहरुले सुन्तला बेचेरै लाखौं आम्दानी गरेका छन् ।

तनहुँको म्याग्दे गाउँपालिका– २ उमाचोकका अधिकांश कृषकले सुन्तला खेती गर्दै आएका छन् । राम्रो आम्दानी हुने भएकाले यस क्षेत्रका कृषक सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् । अहिले उमाचोकको पखेराभरिका बगैचामा सुन्तला लटरम्म फलेका छन् ।

यहाँको सुन्तला मीठो र दाना पनि ठूलो भएकाले व्यापारीहरु काठमाडौदेखि गाउँसम्मै लिन आउने गर्दछन् । कृषक सुकनारायण मल्लले यसवर्ष ६० लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् । त्यस्तै यस क्षेत्रका अन्य कृषकले पनि सुन्तला बिक्री गरेर राम्रो आम्दानी गरेका छन् । कृषक निर्मल अधिकारीले यसवर्ष ८५ लाख रुपैयाँको सुन्तला बिक्री गरेको बताउनुभयो ।

गतवर्ष अत्यधिक वर्षा भएकाले सुन्तला सानो फलेर बिक्री कम भएको थियो । तर यसपटक सुन्तला स्वदिलो र राम्रो फलेकोे छ । सुन्तला पाक्न केही समय ढिला भएपनि गतवर्षको तुलनामा यसवर्ष उत्पादनमा २० प्रतिशत वृद्धि हुने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

गतवर्ष ६ हजार ९ सय ३८ मेट्रिकटन, झण्डै २१ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । यहाँको सुन्तलाको दाना पोटिलो र स्वादिलो भएकाले पनि व्यापारीहरु बोटमै लिन आउँछन् ।

तनहुँमा एक हजार चार हेक्टर क्षेत्रफल सुन्तलाको उत्पादनशील क्षेत्र रहेको छ । उत्पादित सुन्तला काठमाडौ, पोखरा, चितवन लगायतका ठाउँमा निर्यात हुदै आएको छ । उमाचोकका साथै खानीगाउँ, तनहुँसुर, वेनीकोट, नाम्सिकोट, राइपुर, भानुमती, पतेनी, हिर्लेखर्कलगायतका ठाउँ सुन्तलाको पकेट क्षेत्र मानिन्छ ।