
काठमाडौं । काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र पुनः सुरु भएको छ ।
बन्दसत्र शुरु हुनु अघि माओवादीको स्थायी कमिटिको बैठक बसेको थियो । स्थायी कमिटी बैठक सकिए लगत्तै बन्दसत्र सुरू गरिएको हो । यहि पुस ११ गतेदेखि माओवादीको आठौं महाधिवेशन शुरु भएको थियो । केन्द्रीय कमिटीमा आउन धेरै नेताहरुले आकांक्षा राखेपछि सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने प्रयासका लागि बन्दसत्र स्थगित गरिएको थियो ।
महाधिवेशनको उद्घाटन पुस ११ गते नै भएको थियो । सहमतिमै केन्द्रीय सदस्य छान्ने भनिएता पनि आकांक्षी धेरै भएपछि माओवादीलाई नेतृत्व छान्न सकस भएको हो ।माओवादीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिने छ । केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुनेछ ।
उता ३ दिनका लागि भनिएको महाधिवेशन ८ दिनसम्म लम्बिदा ३ दिनको बाटो खर्च बोकेर आएका कार्यकर्ताले खर्च धान्न समस्या भएको गुनासो गरेका माओवादीका एक नेताले ईमेजखबरलाई बताए ।
प्रतिक्रिया दिनुहोस्