१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन मिल्दैन : कार्यकारी निर्देशक पौडेल


208
Shares

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरको विषयमा निगमलाई दोष लगाउन नमिल्ने बताउनुभएको छ ।

कार्यकारी निर्देशक पौडेलले पेट्रोलियम पदार्थको गुणस्तरमा निगमले सुक्ष्म अध्ययन र गुणस्तरको जाँच गरिरहेको बताउनुभयो । पेट्रोल भारतबाट ल्याइने र बिसाउने बाटा धेरै रहेकाले नेपालमा पाइपलाइनबाट पेट्रोल आइसकेपछि गुणस्तरको सम्पूर्ण समस्या समाधान हुने उहाँको भनाइ छ ।

कार्यकारी निर्देशक पौडेलले भन्नुभयो, ‘आजको दिनमा क्वालिटीको विषयमा निगम सुतेको पनि छैन, यो कस्तो हो भने निगमको अहिलेको मान्यता भनेको के हो भने, नो न्यूज इज गूड न्यूज, कुनै पनि समाचार नै नआओस्, त्यो भनेको राम्रो हो । घरमा बुबा बिरामी हुनुभयो भने त पक्कै पनि समाचार आइहाल्छ नि बिरामी हुनुभयो भनेर केही समाचार आएन भने बुबा पनि सन्चो हुनुहुन्छ भन्ने मान्यता हो ।’

निगमका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले आयल निगम नाफा कमाउन स्थापित संस्था नभएको बताउनुभयो ।

आम नागरिकको सहजकर्ताको रूपमा रहेको निगमले २०७० सालपछि स्वचालित मूल्य दरको नियम बनाए पनि पूर्णरूपमा कार्यान्वयन हुन नसकेको भट्टराईले बताउनुभयो । पेट्रोलियम पदार्थको मूल्य घट्दा वा बढ्दा अर्थतन्त्रका अन्य आयामहरूमा पनि ठूलो असर पर्ने उहाँको भनाइ छ ।

सचिव भट्टराईले मूल्यको विषयमा छलफल गरेर आयल निगममा भएका कमजोरीलाई अब दोहोरिन नदिने दाबीसमेत गर्नुभयो ।