
कैलाली । कैलालीको धनगढीमा प्लास्टिक प्रतिबन्ध गर्ने निर्णय अझै कार्यान्वयनमा आउन सकेको छैन ।
वायु प्रदुषण र जन स्वास्थ्यमा हुने प्रतिकुल असरलाई न्यूनिकरण गर्न भन्दै दुई वर्षदेखि प्लास्टिक प्रतिबन्ध गर्ने धनगढी उपमहानगरपालिकाले नीतिगत निर्णय कार्यान्वयन नहुँदा सर्वसाधारणले प्रश्न गर्न थालेका छन् ।
धनगढीस्थित त्रिनगर कृषि उपज हाटबजारबाट अभियानकै रुपमा प्लास्टिक प्रतिबन्ध गर्ने कार्यक्रम घोषणा गरिएको थियो । धनगढी उपमहानगरपालिकाले नीतिगत निर्णयमा प्लास्टिक र अन्य फोहर जलाउन र जथाभाबी फाल्न प्रतिबन्ध गर्ने निर्णय गरेको थियो ।
त्यसो गरेको पाइएमा फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार १ लाख जरिवाना वा ३ महिना जेल वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा र कार्यान्वयनमा कडाइ नगर्दा यो समस्या आएको स्थानीयको भनाइ छ ।
प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा धनगढी बजारका गल्ली–गल्लीमा प्रदूषण फैलिएको धनगढी वार्ड नम्बर –१ का गोपाल भट्टको गुनासो छ । घोषणा मात्रै गरेर कुनै निर्णय कार्यान्वयन नहुने बताउँदै उहाँले नगरपालिका आफैँले गरेको निर्णय कार्यान्वयनमा नल्याउँदा आशंक उब्जिएको बताउनुभयो ।
जनप्रतिनिधिकै उदासिनताका कारण यो समस्या देखिएको उहाँको भनाइ थियो । सडक वरिपरी फोहरमैला बढ्ने, खोलानालामा फोहरजन्य बस्तुको थुपार्ने गर्दा वातावरण नै अस्तव्यस्त बन्दै गएको उहाँको भनाइ थियो ।
धनगढीस्थित त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवान सिंह चैसिर प्लास्टिकका झोलाहरूको उत्पादनमै प्रतिबन्ध लगाउनुपर्ने बताउनुहुन्छ । कोरोनाका कारण प्लास्टिक प्रतिबन्ध गर्ने अभियानले निरन्तरता पाउन समस्या देखिएको पनि उल्लेख गर्नुभयो ।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कोरोना महामारीका कारण निर्णय कार्यान्वयन गर्न चुनौती देखिएको बताउनुभयो । उहाँले प्लास्टिक नियन्त्रण गर्न अभियाननै सञ्चालन गरेको जानकारी गराउनुभयो ।
व्यापारीले २५ रुपैयाँ मूल्य पर्ने कपडाको झोलालाई डबल मूल्यमा बेच्दा प्लास्टिकको उपभोग बढिरहेको सरोकारवालाको भनाइ छ । प्लाष्टिकलाई निषेधका लागि कपडाको झोलालाई सर्वसुलभ बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्