२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


माओवादी केन्द्रको अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित


286
Shares

काठमाडौं, पुष १९ । नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) निर्विरोध निर्वाचित हुनुभएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशनपछि बसेको पहिलो केन्द्रीय कमिटी बैठकबाट दाहाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।

नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव र कृष्णबहादुर महराको समर्थनलाई पार्टीको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

दाहाललाई अध्यक्षमा नेता नारायणकाजीले प्रस्ताव गर्नुभएको थियो भने कृष्णबहादुर महाराले समर्थन गर्नुभएको थियो । अन्य पदाधिकारीको टुंगो लगाउन केन्द्रीय समिति बैठक जारी रहेको छ । यसअघि, नवनिर्वाचित केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

माओवादी महाधिवेशनको बन्दसत्रका क्रममा अध्यक्ष पुष्पकमल दाहालले आइतबार २३६ जना केन्द्रीय सदस्यहरुको नाम सिफारिस गर्नुभएको थियो ।

नवनिर्वाचित केन्द्रीय समितिको जारी पहिलो बैठकले पदाधिकारी चयन गर्नेछ । माओवादीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहने व्यवस्था छ । एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्षको नाम बैठकले टुंगो लगाउने छ ।

२९९ केन्द्रीय सदस्यमा समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ गरी २३६ जनाको नाम टुंगो लागेको छ भने अब समानुपातिकतर्फ २९ र खुलातर्फ ३४ जना केन्द्रीय सदस्य छनोट हुन बाँकी छ ।