
इलाम । इलाममा मनपरी यातायात भाडादर असुल गर्न थालेपछि यात्रुहरु मर्कामा परेका छन् । मेची राजमार्ग आसपासका रुटमा चल्ने सवारी साधनको भाडादर दुईदेखि तीन गुणा बढी लिने गरेको गुनासो बारम्बार आइरहेको छ ।
जिल्ला स्तरिय यातायात व्यवस्थापन समितिले भाडादर निर्धारण गरेपनि कार्यान्वयन हुन सकेको छैन । तेलको मुल्य बृद्धि र नीजि सवारी साधनले यात्रु ओसारेकाले भाडादर बढेको पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवा प्रा.लि. इलामका कार्यकारी सचिव सुमन काफ्लेले जानकारी दिनु भएको छ ।
मेची राजमार्गको इलाम बजारदेखि नेपालटार सम्मको भाडा १ सय नौ रुपैयाँ तोकिएको छ । तर, हाल यातायात ब्यवसायीहरुले १ सय ५० रुपैयाँ लिइरहेका छन् । इलाम मंगलबारेको भाडा २ सय ७ रुपैयाँ तोकिएपनि ३ सय लिइरहेका छन् । इलाम बिर्तामोडको भाडा ३ सय ५३ तोकिएपनि ४ सय लिने लिने गरिएको छ । सदरमुकामबाट गाउँ गाउँमा चल्ने यातायात भाडादर मनपरी असुल गरिएको पाइन्छ ।
जिल्लाभित्र निर्धारण गरिएको भाडादर अनुरुप सबै व्यवसायीलाई गाडीमा भाडादर टाँस्न र बढी भाडा नलिन निर्देशन गरे पनि अनुगमनका क्रममा बढी भाडादर लिनेलाई प्रहरीले जरिवाना गर्ने गरेको प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताउनु भयो ।
कोरोना महामारीपछि यात्रुको चाप वृद्धि हुँदै जाँदा भाडादर वृद्धि गरिएको हो । गत असोज ६ गते जिल्लास्तरमा लागु गरिएको नयाँ भाडादर समेत लागु गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्