१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


यी हुन् सुदूरपश्चिमबाट राष्ट्रिय सभाका टिकट पाएका उम्मेदवार


156
Shares

कैलाली । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्यका तीन सदस्य चयन गर्न माघ १२ गते हुने निर्वाचनका लागि दलहरुले उम्मेदवार टुंगो लगाउन थालेका छन् । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले उम्मेदवारी दिने बताएका छन् ।

नेकपा एमालेले एकल तथा केन्द्रमा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले भने राष्ट्रिय सभाको निर्वाचनका लागि समेत गठबन्धन गर्ने जनाएका छन् ।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीले परिणाम जे–जेस्तो आए पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पार्र्टीले उम्मेदवारको टुङ्गो लगाइसकेको बताउनु भयो । नेकपा एमालेको तर्फबाट खुला सदस्यका लागि नेता डिल्लीराज भट्ट, महिलातर्फ सन्तोष शर्मा र दलिततर्फ नरेश विकको नाम तय गरेको हो ।

सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीले पनि उम्मेदवार टुंगो लगाएका छन् । कांग्रेसको केन्द्रीय समिति बैठकले राष्ट्रिय सभामा कैलालीका नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यस्तै नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशबाट पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाउने जनाएको छ भने माओवादी केन्द्रल जगत पार्कीलाई उम्मेदवार बनाउने जानकारी दिएको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीले भने राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि आवश्यक सबै काम भइरहेको जनाएको छ ।