
दाङ । राष्ट्रियसभा सदस्य पदका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् ।
दाङस्थित लुम्बिनी प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा चार राजनीतिक दलबाट ६ जनाको उम्मेदवारी दर्ता भएको प्रदेश निर्वाचन अधिकारी निमराज भट्टराईले जानकारी दिनुभयो ।
नेकपा एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनालले मनोनयन दर्ता गराएको भट्टराईले बताउनुभयो ।
त्यसैगरी, कांग्रेसको तर्फबाट बाँकेका युवराज शर्मा, जनमोर्चाको तर्फबाट रुपन्देहीका कुल प्रसाद विश्वकर्मा र नेकपा (एकिकृत समाजवादी)को तर्फबाट पाल्पाका राजेन्द्रलक्ष्मी गैरेले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गराएकाहरूको सूचि मंगलबार प्रकाशन गरिनेछ । उम्मेदवारहरूविरुद्ध बुधबार दावी विरोध गर्न सकिने छ भने २५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
प्रदेशबाट एक दलित, एक महिला र अन्य समुदायका एक गरी तीन जना निर्वाचित हुनेछन् ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा ८१ जना प्रदेश सांसद र २ सय १५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा २ सय ९६ मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्