१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लिम्बु सम्पदा संरक्षणमा स्थानीय सरकारको चासो


78
Shares

तेह्रथुम । पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बु समुदायसँग अस्तित्व जोडिएका ऐतिहासिक सम्पदाहरू मासिदै गएपछि तेह्रथुमको छथर पञ्चकन्यामा रहेको योमुई चाम्खासिङ (यक) गढी संरक्षणमा चासो दिन थालिएको छ ।

नेपाल एकीकरण पुर्व लिम्बुहरूको आ–आफ्नै गढ निर्माण गरी राज्य सञ्चालन गर्दै आएका थिए । सोही अनुसार योमुई चाम्खासिङ गढी खजुम लिम्बुहरूको पुर्खाहरूको गढी रहेको थियो ।

संरक्षणको अभावमा भग्नावशेष मात्रै रहेको यो गढी संरक्षणका लागी पुरातत्व विभागसँग सहकार्य गरी संरक्षणमा जुट्दै आएको गढी निमार्ण संयोजक चिनकुमार लिम्बुले बताउनुभयो ।

गढी भन्ने बितिक्कै लिम्बु समुदायको ऐतिहाँसिक,धार्मिक र पुरातात्त्विक सम्पदासँग जोडिने गरेको पाइन्छ । यो समुदायको विवाह प्रश्चात सयमुन्द्री (बागदत्त) छिनाउँदा र लगान राख्दा गढीलाई सम्बोधन गर्ने गरिन्छ ।

लिम्बु समुदायसँग अस्तित्व जोडिएको स्थल भएकाले संरक्षणमा जोड दिनुपर्ने अम्बिका खजुमको भनाइ छ ।

गढी संरक्षणका लागि समिति नै निर्माण गरी केही वर्ष अघिदेखि अभियान सुरु गरिए पनि यसले खासै गति लिन नसक्दा सम्पदा संरक्षणको काम द्रूत गतिमा हुन सकेको छैन ।

खजुम लिम्बुहरूको पहिचानको रूपमा रहेको गढीलाई संरक्षण गर्दै पछिल्लो पुस्तालाई समेत अध्ययन गर्न सहज होस् भन्ने उदेश्यले संरक्षणमा जुटेको योमुई चाम्खासिङ खजुमहाङ चुम्भोका केन्द्रीय अध्यक्ष उमेशचन्द्र पारघारीले बताउनुभयो ।

खजुम लिम्बुहरू कुरुम्भङ, चोङबाङ, पारघारी, लेक्वा र वयाङ खजुम गरी ५ थरी रहेका छन् । गढी संरक्षणमा खजुम लिम्बुहरूले चासो दिनुपर्ने भए पनि अहिलेसम्म यस्ता सम्पदाहरू बेवारिसे नै देखिन्छन् ।

तर, पछिल्लो समय स्थानीय सरकारले यस्ता ऐतिहासिक सम्पदाको संरक्षण र सम्वर्द्धनमा चासो दिएसँगै स्थानीयले पनि चासो दिन थालेका छन् ।