१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रुपन्देहीमा ८ करोड मूल्यका ईट्टा नष्ट, मूल्यवृद्धि हुनसक्ने व्यवसायीको भनाइ


325
Shares

भैरहवा । बैमौसमी वर्षाका कारण रुपन्देहीमा ८ करोड मूल्य बराबरको काँचो ईट्टा नष्ट भएको छ ।

मंगलबार र बुधबार भएको वर्षाले जिल्लामा रहेको ५० उद्योगमध्ये सञ्चालनमा रहेका ४७ वटा उद्योगमा ३ करोड २५ लाख गोटा ईट्टा नष्ट भएको हो । जसका कारण बजारमा ईट्टाको अभाव हुने देखिएको छ भने उद्योगीसमेत मारमा परेका छन् ।

विगत दुई वर्षदेखि कोरोना महामारीका कारण संकटमा परेको उद्योग/व्यवसाय बैमौसमी वर्षाका कारण थप समस्यामा परेको ईट्टा उद्योगीको गुनासो छ ।

अप्रत्याशित रूपमा पानी पर्दा गोदाममा स्टक गरेर भट्टामा पोल्ने अवस्थामा रहेको काँचो ईट्टा ठूलो मात्रामा नोक्सान भएको लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव अजयकुमार गुप्ताले बताउनुभयो ।

अब नयाँ ईट्टा उत्पादन गर्न एक महिना ढिलो हुने उहाँको भनाइ छ ।

जिल्लामा कोइलाको आपूर्ति सहज रुपमा हुन नसक्दा पनि यसको अभाव रहेको महासचिव गुप्ताले बताउनुभयो । कोइलाको आपूर्ति सहज र सुपथ मूल्यमा व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ ।

न्यू कामना इँट्टा उद्योग सियारी गाउँपालिका–७ रुपन्देहीका सञ्चालक टंक अधिकारीले ४ महिना चल्ने उद्योगमा बैमौसमी वर्षाले क्षति गरेको बताउनुभयो । यसवर्ष सोचेभन्दा बढी वर्षा भएकाले नोक्सान बढेको उहाँको भनाइ छ ।

व्यवसायीले मूल्यवृद्धि गर्न नचाहेको भए पनि कोइला र मजदूरको लागत बढ्दै गएकाले मूल्यवृद्धि हुनसक्ने अधिकारीको संकेत छ । ईट्टा प्रतिगोटा १८ रुपैयाँमा बिक्री गर्दा पनि खासै मुनाफा हुने स्थिति नरहेको उहाँको भनाइ छ ।

एउटा ईट्टा उद्योग स्थापना गर्न कम्तीमा ५ देखि ६ करोड रुपैयाँ लगानी हुने व्यवसायीहरू बताउँछन् । रुपन्देहीमा सञ्चालित ईट्टा उद्योगमा करिब १० अर्ब लगानी छ भने ८ हजार बढी मजदूर कार्यरत छन् ।