
जनकपुरधाम । राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश २ मा चार दलका ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
महिला र खुला गरी दुई पदका हुने चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र जसपाका १÷१ जना र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र एमालेबाट २÷२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
मंगलबार जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला समूहमा दर्ता गराउनुभएको छ भने सत्तारुढ दल जनता समाजवादी पार्टीबाट पुरुष खुलातर्फ सिरहाका मोहम्मद खालिद सिद्दकीले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, लोसपाबाट महिला समूहतर्फ महोत्तरीकी रूपा यादव र खुल्ला समूहबाट सप्तरीका श्यामसुन्दर सरदारले उमेदवारी दर्ता गराएका छन् । एमालेको तर्फबाट महिला समूहमा विनादेवी साह र खुल्ला समूहबाट उस्मान अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ दलका उम्मेदवारहरुले आफू गठबन्धनको उम्मेदवार रहेकोले जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।
प्रदेश नम्बर २ मा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि निर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस्