१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षकलाई मन्त्री पाैडेलको निर्देशन– ‘विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्नूस्’


520
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न शिक्षकहरूलाई निर्देशन दिनुभएको छ ।

बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकहरूको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न निर्देशन दिनुभएको हो ।

‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उहाँले भन्नुभयो, ‘अभिभावकको सहयोग, शिक्षकको लगनशीलता र विद्यार्थीहरूको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।’

मन्त्री पौडेलले विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरूलाई अहिलेको प्रविधिसँग अपडेट हुन आग्रह गर्नुभयो ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयले राखेको बताउँदै उहाँले प्राविधिक शिक्षामा मन्त्रालयले जोड दिइरहेको स्पष्ट पार्नुभयो ।

५ वर्षदेखि रोकिराखेको शिक्षकहरूको आन्तरिक बढुवाको कामको थलानी भएको भन्दै मन्त्री पौडेलले तीन हजार ३ सयभन्दा बढि शिक्षकहरूको बढुवा हुने जानकारी गराउनुभयो ।

आफूले शिक्षा मन्त्रालय सम्हालेपछि विद्यालयमा शिक्षकहरूको अभावलाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११औं सशोधन मन्त्रिपरिषद्बाट स्वीकृत गराएर विज्ञापन खुलाएको पनि मन्त्री पौडेलले स्मरण गराउनुभयो ।