
काठमाडौं, पुष २० । राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ ।
समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिटर फाष्ट ट्रयाक खोल्न नै बाँकी रहेको देखिएको र पुल निर्माणको काम समेत सुरु नभएको पाइएकाले सरोकारवाला निकायसँग छलफल गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारको लक्ष्य अनुरुप आ.व. २०८०/८१ सम्ममा काम सम्पन्न हुनेमा दुविधा देखिएको समिति सभापति रामनारायण बिडारीले बताउनुभयो ।
तोकिएकै समयमा काम सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन, वन सम्बन्धी कामहरु र आवश्यक स्वीकृति दिनुपर्ने विषयमा सरकारका सम्बन्धित मन्त्रालयहरुलाई आगामी समिति बैठकमा बोलाएर आवश्यकता अनुसार ध्यानाकर्षण तथा निर्देशन दिइने उहाँले बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले द्रुत मार्ग निर्माणको काम समयमै सकिनुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्