
काठमाडौं । ललितपुर, बाग्लुङ, पर्वत र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
ललितपुरको कुपण्डोलमा गएराती मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल गएराती सवा एक बजे अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका मोटरसाइकलमा पछाडी सवार मंगलबजार बस्ने ललितपुरकै गोदावरी नगरपालिका–९ छम्पीका ३१ वर्षीय राजु तामाङको उपचारको क्रममा आज बिहान तीन बजे पाटन अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालकको भने महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
बाग्लुङको ढोरपाटन नगरपालिका–१ खप्तडीवाङमा गएराती मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गएराती सवा नौ बजे लु ३१ प ४५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकल चालक बाग्लुङकै निसिखोला गाउँपालिका–७ का ३३ वर्षीय लिला तामाङको मृत्यु भएको हो ।
वुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडी सवार सोही ठाउँका ३८ वर्षीय सागर तामाङको सोही प्राथमिक केन्द्रमा उपचार भइरहेको छ ।
पर्वतको विहादी गाउँपालिका–६ बिसुन डाँडामा हिजो साँझ ट्याक्टर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ भने परिचालक घाइते भएका छन् ।
वाकीठाँटीबाट उरामतर्फ जाँदै गरेको लु ४ त ६८४८ नम्बरको ट्याक्टर हिजो साँझ साढे ६ बजे अनियन्त्रित भएर पल्टिँदा विहादी गाउँपालिका–५ का ३० वर्षीय मुक्ति पराजुलीको मृत्यु भएको हो । दुर्घटनामा चालक पराजुली ट्याक्टरको इन्जिनले च्यापिएका थिए ।
दुर्घटनामा घाइते भएका परिचालक सोही ठाउँका १७ वर्षीय राजु नेपालीलाई उपचारको लागि वालिङ पठाइएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–६ राममाडीमा हिजो बेलुकी ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हिजो बेलुकी साढे ८ बजे ज १ त ६३८७ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०२१ प ७६०८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा कमलामाई–६ का २७ वर्षीय शिव कुमार खत्रीको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्