५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


३३ किलो सुन तस्करी प्रकरण : मुख्य अभियुक्त ‘गोरे’का भाइलाई दुबईबाट ल्याइयो

आजै विराटनगर पठाएर अदालत पेश गर्ने तयारी

4.979k
Shares

काठमाडौं । साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई नेपाल प्रहरीले दुबईबाट काठमाडौं ल्याएको छ । इन्टरपोलको सहयोगमा दुबईमा पक्राउ परेका उप्रेतीलाई मंगलबार काठमाडौं ल्याइएको हो ।

उप्रेतीलाई दुबईमै पक्राउ गरिएको हो भन्ने नदेखाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको वयान दाबी प्रहरीले गरेको छ । गौशला प्रहरी वृत्तमा राखिएका उनलाई आज (बुधबार) विराटनगर पठाउने तयारी गरिएको छ । उनलाई आजै जिल्ला अदालत मोरङमा पेश गर्ने तयारी छ ।

मोरङको उर्लाबारी नगरपालिका–७ घर भइ दुबई बस्दै आएका रमेश उप्रेती ३३ किलो सुन तस्करी मुद्दामा फरार अभियुक्त हुन् । उक्त प्रकरणका मूख्य अभियुक्त भनिएका गोरे भनिने चुडामणि उप्रेतीका भाइ रमेशले दुबईमा बसेर नेपालमा सुन पठाउने गरेको दाबी छानविन समितिको प्रतिवेदनमा गरिएको छ ।

सुन तस्करी काण्डका अन्य अभियुक्तहरूले सफाई पाएको बेला प्रहरीले गोरेका भाइलाई दुबईबाट नेपाल ल्याएपछि थप तथ्य सार्वजनिक हुने विश्वास गरिएको छ । २०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समूहले दुबईबाट ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि लुटपाट भएको थियो ।

उक्त सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या समेत गरिएको थियो । सरकारले गृह मन्त्रालयका तत्कालिन सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो ।