१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डडुवाले आलु कृषकलाई फेरि क्षति


104
Shares

डडेल्धुरा । कार्तिक पहिलो साता आएको बेमौसमी वर्षाले क्षति व्यहोरेका डडेल्धुराका आलु कृषकले दोश्रो खेतीमा डडुवा लाग्दा फेरि क्षति व्यहोर्नु परेको छ ।

मौसमी नगदे तरकारी बाली आलुखेती गरिरहेका नवदुर्गा गाउँपालिका वडा नंबर २ र ३ क्लष्टरका कृषकहरुले दोश्रो खेतीको रुपमा ६ सय क्वीन्टल आलु बिउ लगाएकोमा आधा जति आलुमा डडुवा लागेपछि लाखौं आम्दानी हुनबाट वञ्चित मात्र भएका छैनन् गहुँबाली विस्थापित गरेर आलुमा आकर्षित भएका कृषकलाई के खाने भन्ने चिन्ता थपिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई आलु सुपरजोन कार्यालय डडेल्धुराले कृषकलाई प्राविधिक परामर्श दिँदै औषधि र भिटामिन छर्केर उपचार गर्न सुझाए पनि कृषक भने चिन्तित छन् ।

परम्परागत खेती गहुँलाई विस्थापित गर्दै आलु खेतीमा लागेका नवदुर्गाका कृषकलाई स्थानीय सरकारले २५ प्रतिशत बजेट अनुदानबाहेक अरु कुनै चासो नदिएकोमा कृषकले गुनासो गरेका छन् ।

स्थानीय सरकार, प्रदेश सरकार र परियोजनाको अनुदान, विमा शुन्क अनुदान तथा किसानहरुलाई आवश्यक सहयोग प्राप्त हुन थालेपछि गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा आलु उत्पादन बढेसँगै डडेल्धुरामा चक्लाबन्दि प्रणालीमा १२ हजार रोपनी अर्थात ६ सय बढि हेक्टर आलुखेती विस्तार भएको थियो ।