
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित न्यायोचित नभएको बताउनुभएको छ ।
संस्थापन इतर डा. शेखर कोइराला पक्षको भेलापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले कार्यकारी पदमा बस्नुभएका सभापति देउवाले केन्द्रीय सदस्य न्यायोचित रुपमा मनोनित नगरेको बताउनुभयो ।
सभापति देउवाले पार्टीलाई विधिविधान अनुसार चलाउन नखोजेको भन्दै उहाँले यस्तो अवस्था भइरहे पार्टी एकताउन्मुख नहुने टिप्पणी गर्नुभयो ।
‘दुईपटक केन्द्रीय सदस्य मनोनित भए । मनोनित गर्नु सभापतिलाई विधानले दिएको अधिकार हो,’ उहाँले भन्नुभयो, ‘तर, कुनै पनि सभापतिले पार्टीभित्रको शक्तिहरूबीच साझेदारी र सन्तुलन गरेर न्यायोचित वितरण प्रणालीलाई हेर्नुपर्छ, त्यो भएन ।’
देउवालाई सभापतिमा विजयी हुन प्रत्यक्ष र परोक्ष सहयोग गर्नेहरूलाई मात्र केन्द्रीय सदस्य मनोनित गरेकोमा पनि उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।
‘उहाँलाई प्रत्यक्ष र परोक्षा रुपमा सहयोग गर्नेहरू मात्र केन्द्रीय सदस्यमा मनोनित भए, विधिविधान अनुरुपमा नेतृत्वले निर्णय गरेन,’ उहाँले भन्नुभयो, ‘१३ जना मनोनित गरेका मध्ये एक जना हाम्रो समूहबाट उठेर हारेका व्यक्ति परेका छन् ? यस्ता कुराहरुले पार्टीलार्ई एकताउन्मुख राख्न दिँदैन ।’
नेता केसीले नेपाली कांग्रेस कमजोर भएको दिन देशमा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने भन्दै नीति र विधिको हिसावले चलेको अवथामा आफूहरु सम्पूर्ण रुपमा सभापतिलाई सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले आफूहरुलाई रुपान्तरणकारी वैचारिक समूहको नाम दिँदै चुनाव हारेको भरमै नथाकेको र निरन्तरको यात्रामा रहेको जिकिर गर्नुभयो ।
नीति, विधि र न्यायोचित वितरण प्रणालीलाई खुम्च्याउने प्रयास भएको खण्डमा आफूहरूले सहकार्यलाई संघर्षमा बदल्ने नेता केसीको भनाइ छ । उहाँले विधि, विधान र प्रणालीका लागि समर्पण नगर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीभित्र एकता र सहमति भनेको सहअस्तित्व हो, सहअस्तित्वलाई कसैले पनि समर्पण ठानेको छ भने हामी समर्पण गर्दैनौं ।’
प्रतिक्रिया दिनुहोस्