
सिन्धुली । हिउँदमा भारतको पश्चिम बंगाल र आसामबाट आउने जंगली हात्तीका कारण सिन्धुलीको कमलाखोच तथा आसपासका क्षेत्र आतंकित हुने गरेको छ ।
डिभिजन वन कार्यालय सिन्धुलीले हालै गरेको अध्ययन अनुसार गएको पाँच वर्षको अवधिमा सिन्धुलीको कमलाखोच क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट करिब एक दर्जन व्यक्तिको मृत्यु भएको छ । त्यस्तै, सिन्धुली नजिकका जिल्लाहरु धनुषामा ९, मोरङमा ८, रौतहटमा ७, सर्लाहीमा ५, मकवानपुरमा ५, इलाममा ४, महोत्तरीमा एक र नवलपरासीमा एक जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
जंगली हात्तीको आक्रमणबाट सिन्धुली आसपासका क्षेत्रमा १३८ जना घाइते भएको, तीन हजार ७ सय ५५ व्यक्तिको घर क्षति गरेको तथा ६ हजार ६ सय ६ जनाको बालीनाली नष्ट भएको प्रतिवेदनमा उल्लेख छ ।
सिन्धुलीको कमलाखोच क्षेत्र घना जंगल भएकाले जंगल क्षेत्रबाट ५०० मिटर वरिपरि बढी संख्यामा जंगली हात्तीको जोखिममा परेकाले हात्तीको आक्रमणबाट जंगल आसपासकै मानव बस्तीहरु जोखिममा पर्दै आएको स्थानीयहरु बताउँछन् ।
जंगली हात्तीको आक्रमणमा जिल्ला र आसपासका क्षेत्रमा ७५ वर्ष उमेर भन्दा माथिका पर्ने गरेका छन् भने साँझ ४ बजेदेखि राति ११ बजे सम्मको समयमा हात्तीले बढी आक्रमण गर्ने गरेको तथ्यांकमा देखाईएको छ ।
रातिको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई भगाउन पटाका पट्काउने, मदिरा खाएर चुरेको फेदीमा बसोबास गर्ने दलित जनजाति र गरिब समुदायले हात्ती लखेट्न जाँदा मानवीय क्षति बढी हुने देखिएको छ ।
समूहमा बस्न रुचाउने जनावर जंगली हात्ती समूहबाट बाहिरिएर मानव बस्तीमा पुगेपछि सिन्धुली जिल्लाको कमलाखोच र यस आसपासका क्षेत्रको जनजीवन प्रभावित बन्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस्