
तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा पुजापाठ र घुम्न आउने दर्शनार्थीको संख्यामा वृद्धि भएपछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने आँधीमूलमा धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा दर्शन गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले मन्दिरमा पुजा गर्न आउने भक्तजनको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएको हो ।
पछिल्लो समय आँधीमूल पिकनिक स्पोटको रुपमासमेत विकास भएको छ । पिकनिक स्थलको पनि व्यवस्था भएपछि यहाँ वनभोज खान आउनेहरुको भीड लाग्ने गरेको छ । शनिबार र विशेषगरी बिदाको दिनमा वनभोज खान मानिसहरु यहाँ आउने गर्दछन् । आँधीमूल प्रसिद्ध धार्मिक स्थल भएको हुँदा यसको विकासको लागि थप पुर्वाधार निर्माण र प्रचारप्रसार गर्नुपर्ने सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य अमरराज नहर्कीले बताउनुभयो ।
पृथ्वी राजमार्गको सत्रसयबाट आधा घन्टाको दूरीमा आँधीमूल पुग्न सकिने भएकाले पनि अहिले यो ठाउँ सबैको रोजाइमा परेको हो । पर्यटकको चहलपहल बढ्न थालेसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाले बनाएको छ । पोखरी, मन्दिर र लहरै रहेकोे धाराले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको छ । आँधीमूल देवीको दर्शनार्थीले परेवा उडाउने र बोका तथा कुखुराको बली दिने प्रचलन छ । मागेको कुरा पुरा हुने विश्वासले आँधीमूल देवीको मन्दिरमा दर्शन गर्न आएको दर्शनार्थी सुरज अधिकारीले बताउनु भयो ।
जंगलको खोचमा अवस्थित आँधीमूलमा पर्यटकहरु पैदल हिँडेर पनि सहजै पुग्न सक्छन् । तनहुँ, कास्की, लमजुङ चितवन स्याङ्जालगायत विभिन्न स्थानबाट दर्शनार्थी यस ठाउँमा आउने गर्दछन् । दैनिक पन्धदेखि सोह्र सयको संख्यामा भक्तजनहरु आउने गरेको मन्दिरका पुजारी युवराज मास्के मगरले बताउनु भयो ।
मन्दिर परिसरमा रहेको पोखरीमा खेल्ने माछा यस तीर्थस्थलको मुख्य आकर्षण हो । जलदेवताका रुपमा विश्वास गरिने यहाँका माछा मरेमा अनिवार्य रुपमा काजकिरिया गर्नुपर्ने संस्कार तथा प्रचलनले यहाँको सांस्कृतिक महत्वलाई उजागर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्