
काठमाडौं । मुलुकर आयुर्वेदिक औषधोपचार व्यापक भइरहेका बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना भने धर्मराउँदो अवस्थामा पुगेको छ ।
वैद्यखानाको श्रीवृद्धिका लागि काम गर्नुपर्ने विकास समितिको मनोमानी र अस्थिर नेतृत्वका कारण संस्था अस्ताउने अवस्थामा पुगेको हो । कुनै बेला १ सय २५ किसिमका औषधि उत्पादन गर्ने यो संस्था अहिले अस्तित्वको लडाईंमा छ ।
शासक र भाइ–भारदारको उपचार गराउने उद्देश्यले प्रताप मल्लको समयमा खुलेको आयुर्वेदिक औषधि उत्पादन गर्ने सिंहदरबार वैद्यखानाको शाख गणतन्त्रमा संकटग्रस्त अवस्थामा पुगेको छ ।
देशका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा यस्तै प्रकृतिका निजी उत्पादक कम्पनीको प्रवर्द्धनात्मक कार्यक्रममा उपस्थित भइरहँदा सरकारकै स्वामित्वमा रहेको वैद्यखाना आग्लो लाग्ने अवस्थामा पुग्नु सुखद खबर होइन ।
कुनै समय आयुर्वेदिक उपचारमा एकछत्र राज गर्न सफल वैद्यखानाको व्यवस्थापनमा एकदशक यता धमिरा लाग्न थालेको हो । महिनैपिच्छे वैद्यखानाको प्रबन्धक निर्देशक फेर्ने खेलले यहाँको व्यवस्थापन दुर्बल बन्नपुग्यो ।
गत चैतमा डा. सबरी साह प्रवन्ध निर्देशक बनाएर पठाएकोमा ५ महिनापछि डा. शोभाराम सुवेदीलाई वैद्यखानाको नेतृत्व दिइयो । १ महिनापछि पुनः डा. सुवेदी हटाएर डा. शाहलाई नै जिम्मेवारी दिइएको छ ।
श्रोत साधनको कमी, अस्थिर नेतृत्वले संस्था दुरावस्थामा पुगेको भुक्तभोगीहरूको भनाइ छ ।
शिलाजित, च्यवनप्रास र तुलसी चियाजस्ता उपभोक्तामाझ लोकप्रिय उत्पादनले मन जितेको संस्था किन यति कमजोर भयो ? यसका उत्पादन बजारमा किन पाइँदैन त ? संस्थामाथि नागरिक तहबाट गम्भीर प्रश्न उठेको छ ।
संस्थाका प्रबन्ध निर्देशन डा. साह कच्चा पदार्थ नपाइएका कारण अपेक्षित उत्पादन गर्न नसकिएको बताउनुहुन्छ । कच्चा पदार्थ नेपालमा उत्पादन हुन छाडेको र याे समस्य अझै तीन महिनासम्म रहने उहाँको भनाइ छ ।
सरकारले केही बजेट पठाउने गरेको भए पनि विकास समितिमा रहेको १० करोड रकम नै संस्था चल्ने आधार बनेको छ । यथास्थितिमा टिक्न नसक्ने, अगाडि बढ्न श्रोत साधन र योजनाको अभाव हुँदा संस्थाको यात्रा अलमलिएको छ ।
यद्यपि यो वर्षको अन्त्यभित्र संस्थाले लय समात्ने डा. साहको दाबी छ । आफ्ना केही उत्पादन भने बजारमा सहजै पाइने उहाँकाे जिकिर छ । स्पेशल च्यवनप्रास १५ दिनभित्र बजारमा उपलब्ध हुने दाबी गर्ने उहाँ च्यवनप्रास भने बजारमा छ्यापछ्याप्ती पाइने उहाँ बताउनुहुन्छ ।
एकातिर आर्थिक उत्पादनमा जोड दिएको बताउने सरकारले स्वदेशी जडीबुटीको उपयोग गरी आयुर्वेदिक औषधि उत्पादन गर्ने संस्था दुरावस्थाबाट गुज्रिनु सुखद खबर होइन ।
नागरिकको स्वास्थ्यसँग जोडिएका यस्ता संस्थालाई साधनसम्पन्न बनाइ सहुलियत दरमा यसका उत्पादन मेचीदेखि कालीसम्म उपलब्ध हुने वातावरण सिर्जना गरिनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्