१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१४औं महाधिवेशनले पनि हटाउन सकेन कांग्रेसकाे गुटगत राजनीति, शेखरले सुरु गरे भेला


364
Shares

काठमाडौं । १४ औं महाधिवेशन सम्पन्न भएको २ साता नबित्दै नेपाली कांग्रेसमा गुटगत राजनीति सुरु भएको छ ।

एकता र रुपान्तरणको सन्देशसहित १३ औं महाधिवेशनलगत्तै देश दौडाहामा निस्किएका शेखर कोइराला १४ औं महाधिवेशनमा सभापतिमा पराजित भएलगत्तै गुटगत राजनीतिको अग्रभागमा देखिनुभयो ।

नवनिर्वाचित केन्द्रीय समितिको २ वटा बैठक र केही महत्वपूर्ण निर्णयहरूमा सभापति शेरबहादुर देउवाले महत्व नदिएपछि कोइराला पक्ष सभापति एकलौटी ढंगले चल्न थालेको भन्दै घुमाउरो तरिकाले भागबण्डा हुनुपर्ने लबिङ गर्न थालेको छ ।

बुधबार भएको गुटगत भेलाले देउवामाथि दवाव बढाउने सन्देशमात्र दिएको छैन, कांग्रेसभित्र औसत रूपमा गुटगत राजनीतिको विरोधी नेताका रुपमा चिनिएका शेखरले पनि गुटगत राजनीतिमा भविष्य देख्न थालेको सन्देश गएको छ ।

कोइराला प्यानलबाट पदाधिकारीमा पराजित नेतालाई केन्द्रीय सदस्यमा मनोनित नगरेपछि यो समूह सभापति देउवाप्रति आक्रोशित बनेको हो । पार्टीका निर्णय प्रक्रिया न्यायोचित, विधिसम्मत तथा अवसरको वितरण र व्यवस्थापनका विषयमा पनि यो समूहले प्रश्न उठाएको छ ।

एकपछि अर्को घटनाक्रम हेर्दा सभापति देउवाले निर्णायक भूमिका नदिने देखेपछि गुटगत भेला सुरु गरेका कोइरालाले पार्टी दुर्घटनामा पर्ने र कांग्रेसमा किन बसिरहने जस्ता दीर्घकालिन असर पर्ने खालका चेतावनीयुक्त अभिव्यक्ति दिनुभएको छ ।

कोइरालाका यस्ता अभिव्यक्तिले पार्टीभित्रका दुई समूहको दूरी झन् बढ्ने देखिएको छ ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा तथा सहमहामन्त्रीद्वय बद्री पाण्डे तथा जीवन परियारको उपस्थितिले थप नकारात्मक सन्देश प्रवाह गरेको विश्लेषण हुनथालेको छ ।

यद्यपि सहभागी नेताहरूले समानान्तर गतिविधि गर्न नचाहेको जिकिर गरेका छन् । तर, कांग्रेसमा क्यान्सरको रूपमा रहेको गुटगत राजनीति १४ औं महाधिवेशले पनि हटाउन नसकेको प्रष्ट भएको छ ।