
कञ्चनपुर । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै पश्चिमी नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण ह्वात्तै बढेको छ ।
मंगलबार यता भारतबाट गड्डाचौकी नाका हुँदै भित्रिएका एक सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार शुक्रबार मात्रै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, बिहिबार २८, बुधबार ४५ र मंगलबार ८ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमितहरूलाई महाकाली प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको स्वास्थ्य प्रमुख शिवराज सुनारले बताउनुभयो ।
पछिल्लो समय कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन बढेसँगै स्वास्थ्य कार्यालय नाकाहरूमा स्वास्थ्य परीक्षणमा कडाइ गरेको छ । यसरी भित्रिनेहरूलाई सीमानाकामा रहेका हेल्थ डेस्कमा एन्टीजेन परीक्षण गरेपछि मात्रै नेपाल प्रवेशको अनुमति दिने गरिन्छ ।
नाकामा कोरोना संक्रमितको संख्या तीव्र गतिले बढे पनि तत्काल नाकामा बन्द गर्ने विषयमा भने कुनै निर्णय नभइसकेको स्वास्थ्य कार्यालय जनाएको छ । कञ्चनपुरमा एक सय ४० जना कोरोनाका सक्रिय संक्रमित छन् ।
प्रतिक्रिया दिनुहोस्