
काठमाडौं । अपराधीहरूले अपराधको खेलखोर गेष्ट हाउसलाई बनाउन थालेपछि प्रहरीका लागि टाउको दुखाइ भएको छ ।
व्यावसायिक थलोमा हस्तक्षेप गर्न सहज नहुने भए पनि काठमाडौं उपत्यकामा हुने आपराधिक घटनाको केन्द्र गेष्ट हाउस बनाइँदा प्रहरीले गेष्ट हाउसलाई निगरानीमा राख्नुपर्ने अवस्था छ । सुधारका लागि प्रहरीले दश दिनभित्र अनिवार्य सीसी क्यामेरा जडान गर्न उर्दी जारी गरेको छ ।
नयाँ बसपार्क, कोटेश्वर, सुन्धारा र कलंकीमा धेरै होटल तथा गेष्ट हाउस छन् । गोंगबु नयाँ बसपार्कस्थित मित्रनगर र त्यस आसपास मात्रै १ हजार बढी होटल रहेको बताइन्छ । यद्यपि यसको ठ्याक्कै तथ्याङ्क भने छैन ।
आरोपीहरूले अपराध योजना बनाउने र अपराध गरेपछि लुक्ने आश्रयस्थलको रूपमा गेष्ट हाउस प्रयोग गर्दै आएको महानगरीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक उत्तमराज सुवेदी बताउनुहुन्छ । पछिल्लाे समय गेष्ट हाउसमा याैनजन्य अपराधहरू भइरहेकाे उहाँकाे भनाइ छ ।
पुस १२ मा कामको खोजीमा सुर्खेतबाट काठमाडौं आएकी ३४ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा ९ जनाबाट बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका ९ जना किशोरले उनलाई बलात्कार गरेका थिए ।
प्रहरीले घटनामा संलग्नमध्ये ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेष्ट हाउस एन्ड खाजा घरबाट पक्राउ गरेको थियो । घटनामा बलात्कार र बलात्कारपछि लुक्न आरोपीहरूले गेष्ट हाउस रोजेको नायव महानिरीक्षक सुवेदीको भनाइ छ ।
०७८ मंसिर १५ मा काठमाडौंको कोटेश्वरस्थित सुब्बा गेष्टहाउसमा १२ वर्षीया बालिका बलात्कृत भइन् । साे आरोपमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली शाहलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलायो ।
गेष्ट हाउस अपराध गर्ने थलो बन्दै गएपछि ग्राहकहरूको रेकर्ड राखेको वा नराखेको बारे छानविन गर्न काठमाडौं प्रहरीलाई निर्देशन दिइसकेको सुवेदी बताउनुहुन्छ ।
गेष्ट हाउसमा कुनै पनि सानोतिनो घटनादेखि जघन्य अपराध भएको खण्डमा गेष्ट हाउस सञ्चालकको पनि त्रुटी हुनसक्ने प्रहरीको भनाइ छ । त्यस्तोमा संलग्न रहेको पाइए उनीहरूविरुद्ध मुद्दा चलाउने प्रहरी बताउँछ ।
सही र सम्पूर्ण विवरण लिएर मात्र गेष्ट हाउसमा पाहुना राख्न प्रहरीले व्यवसायीलाई आग्रह गरेको छ । गेष्ट हाउसलाई अपराधको केन्द्रबाट मुक्त गराउन महानगरीय प्रहरीले बसपार्क क्षेत्रका गेष्ट हाउस सञ्चालकहरूसँग छलफल थालेको छ ।
प्रतिक्रिया दिनुहोस्