
काठमाडौं, पुस २३ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई आगामी निर्वाचनमा मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल गर्नुभएको छ ।
पार्टीको जिल्लाहरुको अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यामबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई आगामी निर्वाचनमा मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल गर्नुभएको हो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै सत्तारुढ गठबन्धनसँग भिड्न सक्षम रहेको दावी गर्नुभयो । उहाँले असंवैधानिक तरिकाले वर्तमान सरकार बनेको दावी गर्दै मतदानको माध्यामबाट हटाउन आम जनतालाई अपिल पनि गर्नुभयो । उहाँले संसदबाट नभई अन्यत्रैबाट बनेको सरकारलाई करिब ३ करोड नेपाली जनताले आगामी निर्वाचनमा मतपत्रको माध्यामबाट अन्त्य गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले जनताले एमाले नेतृत्वको सरकारको प्रतिक्षा गरिरहेको भन्दै सोही अनुसार निर्वाचनको तयारीमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले राष्ट्रियसभाको निर्वाचन पार्टीका लागि अनुकूल नभएपनि आफ्नो पार्टी मुलुकको पहिलो शक्ति रहेको बताउनुभयो । अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचनमार्फत् सत्तारुढ गठबन्धनले आफ्नो पार्टीलाई गर्ने अन्तिम प्रहार भएको पनि बताउनुभयो । त्यो प्रहारबाट नआत्तिन र जनतामा भ्रम पर्न नदिन अध्यक्ष ओलीले पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।
अध्यक्ष ओलीले नर्सिङ कलेजहरु हटाउने, हरेक ठाउँलाई पार्टीको भर्तीकेन्द्र बनाउने काम सरकारले गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले राष्ट्रियसभाको निर्वाचन पहिलेकै जनादेशलाई दूरुपयोग गरेर हुने भएकाले त्यसको परिणाम आफ्नो पार्टीको लागि प्रतिकूल हुनु कुनै अनौठो नभएको बताउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्