१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फिक्कल–नयाँबजार सडक कालोपत्रेकाे काम सुरु , आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयको विश्वास


156
Shares

इलाम । लामो समयपछि इलामको फिक्कल–नयाँबजार सडक कालोपत्रेको काम सुरु भएको छ ।

भारतको सीमा क्षेत्र जोड्ने सडक कालोपत्रे सुरु भएपछि स्थानीय खुसी भएका छन् । यो सडक कालोपत्रे भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास गरिएको छ ।

तीनवटा स्थानीय तहका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने भएपछि यो सडक कालोपत्रेको काम सुरु गरिएको हो । ५३ करोड रुपैयाँको लगानीमा कालोपत्रेको काम थालिएको फिक्कल–नयाँबजार–जौबारी सडक कटिङ्गको पुरै काम सकिएको छ ।

सूर्योदय नगरपालिका, माइजोगमाइ र सन्दकपुर गाउँपालिकाबासीको सुविधा पुग्ने सडकको २० किलोमिटर कालोपत्रेको काम सम्पन्न भइसकेको छ । पर्यटकको आवतजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडकको चालु आर्थिक वर्षमा कालोपत्रे स्तरमा पु¥याउने तयारी छ ।

२०१० सालमा तत्कालिन बडाहाकिम सन्तवीर लामाको नेतृत्वमा सडकको ट्रयाक खोलिएको स्थानीय डम्बर निरौला स्मरण गर्नुहुन्छ । २०७६ मंसिरमा निर्माण सम्झौता भएको सडक झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमार्फत कार्यान्वय हुँदै आएको छ ।

सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्ने माइजोगमाइ गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईको भनाइ छ । प्रत्यक्ष रूपमा भारतसँग जोडिने यो सडकका कारण भारतीय पर्यटक बढ्ने विश्वास गरिएको छ ।

प्रदेश एक सरकारले ५३ करोडको लगानीमा कालोपत्रेको काम सुरु भएको सडक कालोपत्रको कामले गति लिएपछि इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दामा खुसियाली छाएको छ । सडक कालोपत्रे भएपछि बाह्रै महिना यातायात सुचारु हुने भएपछि यहाँ उत्पादित कृषिजन्य उत्पादनलाई भारतको बजारसम्म पुर्‍याउन सहज हुनेछ ।

आन्तरिक र बाह्य पर्यटकको ढोका खोल्ने यो सडक कालोपत्रे सम्पन्न भएसँगै फिक्कल जौबारी घुम्न आउनेको संख्या पनि वृद्धि हुन स्थानीयको विश्वास छ । सडकको कालोपत्रेको काम गुणस्तरीय र दु्रत गतिमा हुन सके यही सिजनमा पनि भारतीय पर्यटकको घुइँचो लाग्ने विश्वास गरिएको छ ।