
बागलुङ । आधा दशक अघिसम्म सुनसान रहेको बागलुङको ताराखोला गाउँपालिका–२ भातखाने डाँडाभरी घरहरू बनेका छन् । अहिले गाउँपालिकाको प्रशासनिक केन्द्र पनि यही नै छ ।
विकासका केही पूर्वाधारहरू निर्माण भइसकेका छन् भने केही बन्ने चरणमा छन् । शहर बजारमा पुगेर मोटर गाडी देखेका बुढापाकाहरूले अहिले घरै अगाडी मोटर गुडेको देख्न पाएका छन् । गाउँमा यति ठूलो परिवर्तन आएपछि स्थानीय पनि दङ्ग परेका छन् ।
कुनै समय सुनसान भातखाने डाँडामा अहिले निकै चहलपहल बढेको छ । सामान्य किनमेलका लागि गलकोट, बागलुङ धाउने स्थानीयले अहिले यहीबाटै त्यो सेवा लिइरहेका छन् ।
स्थानीय देवबहादुर खत्रीले गाउँपालिकाको केन्द्र यहाँ स्थापना हुनुभन्दा पहिले भातखाने डाँडामा खासै घरहरू नभएको र सुनसान रहेको बताउनुहुन्छ ।
यहाँबाट प्रशासनिक तथा अन्य कामका लागि बागलुङ पुग्न दिनै भरी लाग्ने गथ्र्यो । अहिले ३/४ घण्टामै पुग्न सकिने भएको छ । अर्का स्थानीय तलिकुमारी रोकाले भातखाने डाँडामा मोटरबाटो जोडिएपछि आफूलाई सामान ढुवानी गर्न र यात्रा गर्न निकै सहज भएको बताउनुभयो ।
स्थानीय तहको स्थापनापछि भातखाने डाँडा लगायत ताराखोलाका विभिन्न क्षेत्र सुगम बन्दै गएका छन् । पूर्वाधारहरूले नजोडिएका दुर्गम गाउँहरूमा पनि अहिले मोटरबाटोले सहजता थपिदिएको छ ।
प्रतिक्रिया दिनुहोस्