
बागलुङ । बागलुङको ढोरपाटन उपत्यकाका स्थानीय अझै पनि विद्युतको पहँच बाहिर रहेका छन् । उपत्यका वरपरका ठाउँमा अझै पनि बिजुली पुगेको छैन । साँझ पर्नासाथ ढोरपाटन नगरपालिकाका अन्य स्थानमा बिजुली बल्दा उपत्यकाको नवी, स्यालपाखे आसपासका क्षेत्र अन्धकार देखिन्छन् ।
स्थानीयले गोबर ग्यासलाई विद्युतको विकल्पको रुपमा प्रयोग गर्ने गरेका छन् । यी ठाउँमा सूर्यास्तसँगै सुनसान बन्ने गरेको छ । केही स्थानीयले सौर्य उर्जा सोलारको पनि प्रयोग गर्ने गरेका छन् । तर, घाम नलाग्ने समयमा सोलारले पनि काम नलाग्ने स्थानीयको भनाइ छ । विद्युत बिस्तार नभएकै कारण गाउँमा पठनपाठनमा समेत समस्या हुने गरेको छ ।
त्यस्तै, विद्युतको सहायताबाट चल्ने कुटानी पिसानीका लागि प्रयोग हुने मिल पनि चल्न सकेका छैनन् । ढोरपाटनमा मात्र नभई जिल्लाको अन्य केही ठाउँमा पनि अझै केन्द्रिय प्रशारणको विद्युत पुगेको छैन् ।
जिल्लाको निसीखोला गाउँपालिका, तमानखोला गाउँपालिकाका केहि ठाउँमा पनि अझै विद्युत लाईन समेत विस्तार भएको छैन् । निसी र तमानमा विद्युत विस्तारको काम भैरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जानकारी दिएको छ । यस्तै, वडिगाडमा समेत विद्युत विस्तारको काम भैरहेको छ ।
जिल्लाका काठेखोला गाउँपालिका, गल्कोट नगरपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाका एक दुई ठाउँमा बाहेक अन्य ठाउँमा केन्द्रिय प्रशारणको विद्युत पुगेको बागलुङ वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख असिम पन्तले जानकारी दिनु भयो ।
पश्चिममा धेरै लघु जलविद्युत आयोजनाहरु रहेका छन् । लघु जलविद्युत आयोजना संचालन भएको ठाउँमा केन्द्रिय प्रशारणको विद्युत सेवा पुर्याउन समस्या हुने पन्तले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्