
काठमाडौं । युवा व्यवसायीहरूले पोखरामा १४ करोड लगानीमा ‘आव्या क्लब’ खोलेका छन् ।
पोखरा ७, घारीपाटनमा शारीरिक र मानसिक दुवैको तन्दुरुस्तीलाई विशेष ध्यान दिनका लागि सुविधासम्पन्न आव्या क्लब खोलिएको प्रबन्ध निर्देशक निरोज लामाले जानकारी दिनुभयो ।
केही महिनामै औपचारिक रूपमा सुरुवात गरिने क्लबमा शारीरिकका साथै मानसिक स्वाथ्यलाई पनि ध्यान दिइने उहाँको भनाइ छ । उहाँका अनुसार ‘आव्या’ भनेको संसारको पहिलो पवित्र आत्मा हो । साथै यसको अर्थ सूर्यको पहिलो किरण पनि हो ।
आव्या क्लबले शारिरीक अभ्यासमात्र नभई मन र आत्माको समेत शुद्धतासहित स्वास्थ्य सुदृढ बनाउन जोड दिनेछ । आफूहरूले जिमलाई विज्ञान र अध्यात्माको मिलन गराउने आरोग्य केन्द्रको रूपमा विकास गर्न खोलेको प्रबन्ध निर्देशक लामाले बताउनुभयो ।
पोखराका युवा व्यवसायी क्लबका कार्यकारी निर्देशक किरण केसीले आफूहरूले फिजियोथेरापी, रिह्याभिलिटेसन कार्यक्रम पनि सँगै ल्याउने बताउनुभयो । बच्चादेखि वृद्धसम्म, कलेज पढ्ने विद्यार्थीदेखि पेसाकर्मी सबैको लागि सस्तो दरमा सेवा दिने उहाँको भनाइ छ ।
केसीका अनुसार क्लबमा तीन सय जनाले एकै पटक सेवा लिन सक्नेछन् । नेपालमै सबैभन्दा ठूलो दाबी गरिएको आव्या क्लबमा आगामी दिनमा जेनेजल र प्रिमियम प्याकेज उपलब्ध हुने उहाँले बताउनुभयो । जिमका सामानहरू अमेरिकाबाट मगाइएको हो ।
राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा क्लब र मनोरञ्जन केन्द्रहरू सञ्चालनमा आए पनि ती सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेकोले आफूले सबै वर्गलाई समेट्ने गरी ४ वर्षदेखिको योजनालाई साकार पारेको लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्