१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाङका प्रहरी कार्यालय ग्यारेजमा परिणत, एउटै सवारीकाे कर ३० हजारभन्दा बढी


299
Shares

दाङ । विभिन्न घटना होस् वा दुर्घटना । चेकजाँचका क्रममा नियन्त्रणमा लिएका सवारी साधन दाङको तुलसीपुर ट्राफिक कार्यालयमा बग्रेल्ती छन् ।

दुर्घटना हुन्छ, प्रहरीले सवारी साधन नियन्त्रणमा लिन्छ । तर, वर्षौंसम्म सवारी धनी लिन नआउँदा प्रहरी कार्यालय परिसर मोटरसाइकल ग्यारेज परिणत भएको छ । ठाउँको अभावमा सवारीसाधन अस्तव्यस्त अवस्थामा छन् ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्ण पुृजारा, लामो समयसम्म सम्बन्धित ब्यक्तिहरू लिन नआउँदा यस्तो अवस्था आएको बताउनुुहुन्छ । सवारीको नविकरण गर्नुपर्ने र एउटैको ३० हजारभन्दा माथि लाग्ने भएकाले पनि सवारी धनीहरू सवारी लिन नआएको हुनसक्ने उहाँको भनाइ छ ।

ट्राफिक प्रहरी कार्यालय मात्र नभइ इलाका प्रहरी कार्यालय परिसरमा पनि यस्तै बग्रेल्ती सवारी साधन छन् । अधिकांश टुटफुट भएका र खिया लागेका मोटरसाइकलहरू छन् । थन्क्याउने ठाउँ नहुँदा सवारीसाधन राखेको ठाउँमा फोहोर मैला र झार उम्रेर हेरिनसक्नु भएका छन् ।

इलाका प्रहरी कार्यालयमा झण्डै ३ वर्षदेखि अलपत्र रूपमा यस्ता सवारी साधन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्याल बताउनुहुन्छ । यी सवारी हटाउन सके आफूहरुका लागि परिसर सफा देखिने उहाँको भनाइ छ ।

पछिल्लो समय भने ठाउँको अभावमा ट्राफिक प्रहरीले सीमित समयसम्म मात्र राखेर ती सवारी साधनहरू भन्सारमा बुझाउन थालेको छ । सवारी धनी सवारी लिन नआउँदा सवारी साधन कवाडीको रुपमा परिणत हुन थालेपछि समस्या बढ्दै गएको छ ।

तर, जुनसुकै सवारीसाधन पनि नियन्त्रणमा लिएको एक बर्षसम्म राख्नु पर्ने बाध्यता प्रहरीलाई छ । समयमै लिलामी नहुदाँ धेरैजसो सवारी साधनहरु खिया लागेर कामनै नहुने देखिएको छ भने अर्को तर्फ राज्यलाई पनि कर नबुझाउँदा नोक्सान भएको छ ।