
काठमाडौं । हिमपातका कारण जुम्लालगायत माथिल्लो कर्णाली जोड्ने गमगढी–नाग्मा सडक खुल्न नसक्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको सडक नखुल्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको हो ।
मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबेल, सातमोडलगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चलाउन कठिनाइ भएको छ । जुम्ला मुगु, कालीकोट लगायतका जिल्लाको गोदाममा खाद्यान्न सकिए पनि सडकमा जमेको बाक्लो हिउँका कारण सवारी साधन चल्न सकेका छैनन । समयमै सडक खुलाउने प्रयास हुन नसके खाद्यान्न अभाव हुन सक्ने देखिन्छ ।
यसअघि सुर्खेत, नेपालगञ्ज, बर्दिया, राजपुरदेखि सडक मार्गबाट मुगु तथा जुम्लामा खाद्यान्न ढुवानी हुँदै आएको थियो । हिमपातले खाद्यान्न मात्र नभएर व्यापारीका अन्य मालसामान ढुवानीमा समेत कठिनाइ भएको छ । हिमपातका कारण जुम्लाको गुठिजिउला र कालीकोटको नाग्म बजारमा सवारी साधन रोकिएका छन् । हिउँ पग्लेर सडक हिलाम्य छ ।
प्रतिक्रिया दिनुहोस्