२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सेल्फी स्थलमा परिणत हुँदै इलामको सुकिलुम्बा विमानस्थल


598
Shares

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल अहिले सेल्फी खिच्ने ठाउँ बनेको छ भन्दा पत्याउन गाह्रो पर्छ । तर, नपत्याइँ सुखै छैन । जहाज उड्ने छाँटकाँट नहुँदा बिमानस्थललाई अहिले युवायुवतीले घुमघाम गर्ने, सेल्फी खिच्ने र रमाईलो गर्ने ठाउँ बनाएका छन् ।

इलामको यो फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण प्रक्रिया थालेको २० वर्ष बित्यो । तर, अझ यसको पूरै निर्माण कहिले सकिने हो ? अत्तोपत्तो छैन् । धावनमार्ग लगभग पूरा भएको र पटक–पटक परिक्षण उडानसमेत भईसक्दा पनि यो बिमानस्थलममा अझै नियमित उडान हुन सकेको छैन् ।

इलामको आकाशबाट सुन्दर हिम श्रृखलाको दृश्य अवलोकनका साथै तराइका फाँटहरुको मनमोहक दृश्य कैद गर्दै राजधानीसम्म पुग्ने आशामा रहेका इलामेलीहरुको हवाईजहाज चड्ने सपना अझै अधुरै रहेको छ । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो तर विमानस्थल बनाउने प्रक्रिया १० वर्ष ढिला गरि २०६८ सालमा मात्रैे सुरु भएको थियो ।

२०७५ साल जेठ महिनामा तारा एयरको बिमान इलामको आकाशमा फन्को मार्दै सफल अवतरण हुँदा यहाँका नागरिक हर्षले गदगद थिए । उक्त विमानले पहिलो पटक इलामको यो बिमान स्थलमा अवतरण हुँदा त्यतिबेला नै अब चाँडै आकासमा उडेर राजधानी पुग्न पाइने आशा स्थानीयले गरेका थिए ।

त्यतिमात्र नभएर विमानस्थलमा गत वैशाखमै दोस्रो पटक परीक्षण उडान गरेर नियमित उडान गर्ने तयारी थियो । तर, हालसम्म उडान निश्चित छैन । विमानस्थल अहिले स्थानियका लागि मन भुलाउने र दिन कटाउने ठाउँ बनेको छ । शनिबार र सार्बजनिक बिदाका दिन त अझ यो बिमानस्थलमा सेल्फी खिच्नेको भिडभाड नै हुने गर्छ ।

जहाज उड्ने सपना त अहिलेसम्म नेताहरुको भाषणमा मात्र सिमित बन्न पुगको छ । निर्माण सुरु भएको यतिका बर्ष बितिसक्दा पनि बिमानस्थलको निर्माण कार्यले अझै पूर्णता पाउन नसक्नु लज्जास्पद भएको स्थानीयको भनाई छ ।

विमानस्थलको धावनमार्गसँगै ट्याक्सी र हवाई पार्किङ कालोपत्रे भइसकेको छ । धावनमार्ग, कन्ट्रोल टावरसहित ट्याक्सी र हवाइ पार्किङको निर्माणको ठेक्का निर्माण कम्पनीले काम पूरा गरेर नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरिसकेको छ । तर, पनि यसरी अहिलेसम्म जहाज उड्ने छाँटकाँट नदेखाउँदा ईलामेलीहरुले यो ठाउँलाई सेल्फी प्वाईन्ट र रमाईलो गर्ने ठाउँ बनाउँदै आएका छन् ।

सुकिलुम्बाको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बनाइएको यो विमानस्थलको लम्बाइ ६ सय ७० मिटर र चौडाइ २० मिटर रहेको छ । हवाई सेवा सुरु भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका बासिन्दालाई हवाई यात्राका लागि सहज हुन्थ्यो । तर, अझ कहिलेसम्ममा यो बिमानस्थलमा नियमित उडान होला अझै भन्न सकिने अवस्था छैन् ।