२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

खेलकुदमा सरकारको दृष्टिकोण पुगेन : गण्डकी प्रदेश प्रमुख


156
Shares

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको खेलकुद अवस्था अझै लघु अवस्थामा रहेको उल्लेख गर्दै सरकारको दृष्टिकोण अझै नपुगेको बताउनु भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघको वार्षिक साधारण सभा तथा अधिवेशनको उदघाटन गर्दै प्रदेश प्रमुख गुरुङले खेलकुदको विकासमा राज्यको दृष्टिकोण पर्नु पर्नेमा जोड दिनुभयो ।

‘राज्यले खेलकुदको विकासमा दृष्टिकोण दिनुपर्छ । खेलकुद प्रशिक्षण दिने काम राज्यले दिनुपर्छ,’ प्रदेश प्रमुख गुरुङले भन्नुभयो, ‘खेलकुदको विकासमा राज्यले मात्रै नभई निजी क्षेत्रको पनि सहयोग भए प्रवर्द्धन हुन सक्छ ।’ सरकार चलाउने दलका नेताहरु सरकार चलाउन मात्रै केन्द्रित भएको हुँदा खेलकुदमा दृष्टिकोण नपुगेको उहाँको भनाइ छ ।

पछिल्लो समय कर्पोरेट समूहको लगानीले खेलकुद क्षेत्रमा टेवा दिएको प्रदेश प्रमुख गुरुङले बताउनु भयो । ‘कर्पोरेटको व्यवसायिक प्रवर्द्धन भएको छ,’ उहाँले भन्नुभयो, ‘कर्पोरेट समूहको लगानीले खेलकुदमा टेवा पुगेको छ ।’

खेलकुदको विकासलाई अर्थले पनि निर्देशित गर्ने भन्दै प्रदेश प्रमुख गुरुङले आर्थिक कमीले खेलकुद अत्यन्तै पिछडिएको लघु अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

अधिवेशनले जगनबहादुर गुरुङको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । तदर्थ समितिको रुपमा काम गरिरहेको संघले अधिवेशनबाट कार्यसमिति बनाएको हो ।

संघको उपाध्यक्षमा विष्णुहरि गौतम र कमल पराजुली, महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माईकल कर्माचार्य र सचिवमा गंगाबहादुर गुरुङ रहेका छन् । सदस्यहरुमा कुलबहादुर तामाङ (दोर्जे), विकल्प बोगटी, राजु थापा, योगराज अधिकारी, लक्ष्मी पाण्डे, शिवराज वाग्ले, नरेश भट्टराई, सर्फुदिन मियाँ छन् । दुई सदस्य पछि थप गरिने संघले जनाएको छ ।